Friday, August 28, 2026
Zenith Migration Education
Friday, August 28, 2026

पोल्यान्डको सिमा नीति असन्तुलित : रूस

Zenith Migration Education

मस्को । रूसले पोल्यान्डलाई बेलारुससँगको सिमाना बन्द गर्ने निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ। बिहीबार रूसको विदेश मन्त्रालयका प्रवक्ता मारिया झाखारोभाले उक्त जानकारी दिएका हुन् ।

प्रवक्ताका अनुसार, पोल्यान्डद्वारा उठाइएको कदमले युरोपको केन्द्रमा विद्यमान परिस्थिति थप जटिल र तनावपूर्ण बनाउन सक्ने सम्भावना छ।

उनले भने, ‘पोल्यान्डको एकपक्षीय निर्णयले ती अन्तर्राष्ट्रिय साझेदारहरूलाई कठिनाइ पुर्‍याउनेछ, जसले पोल्यान्ड–बेलारुस सिमानाबाट व्यापारिक गतिविधि सञ्चालन गरिरहेका छन् ।’

यसअघि, पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले मंगलबार रूस र बेलारुसबीच सञ्चालन भइरहेका सैन्य अभ्यासका कारण बिहीबार मध्यरातबाट पोल्यान्डले बेलारुससँगको सिमाना पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको घोषणा गरेका थिए । उनले उक्त अभ्यासलाई अत्यन्त उग्र र चासोको विषय भनेका थिए ।

यता, प्रवक्ता झाखारोभाले भने, ‘उक्त सैन्य अभ्यासहरू नियमित रूपमा आयोजना हुने गरेका छन् ।’ यसै सन्दर्भमा, बेलारुसको विदेश मन्त्रालयले पोल्यान्डका कार्यवाहक प्रतिनिधिलाई बोलाई पोल्यान्डको निर्णयप्रति मौखिक आपत्ति जनाएको छ ।

बेलारुसी पक्षले भनेको छ, ‘पोल्यान्डको एकपक्षीय निर्णयले सम्पूर्ण युरोपेली सङ्घ–बेलारुस सिमानामा प्रभाव पार्नेछ, जसले सर्वसाधारण नागरिक तथा मालसामानको आवत–जावतमा गम्भीर अवरोध सिर्जना गर्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु