काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार हुँदै गइरहेको छ । कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचाररत चित्रकारको स्वास्थ्यमा सुधार भइरहेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । चित्रकारको सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ ।
उपचारमा संलग्न चिकित्सक डा निजिना ताम्राकारले उनको फोक्सोमा धुवाँ भरिएको बताए । “अवस्था अलि गम्भीर नै छ । तर स्वास्थ्यमा सुधार भइरहेको छ”, उनले भने ।
चित्रकारको उपचारमा डा ताम्राकारसहितका सर्जनहरुको समूह संलग्न छन् । मङ्गलबार भएको प्रदर्शनका क्रममा पूर्वप्रधानमन्त्री खनालको डल्लुस्थित घरमा प्रदर्शनकारीले आगो लगाएका थिए । आगो लागेपछि घरबाट निस्कने क्रममा उनी जलेकी थिइन् ।



