Sunday, December 7, 2025
Zenith Migration Education
Sunday, December 7, 2025

१९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Zenith Migration Education

काठमाडौँ । सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निष्क्रिय गराएका सामाजिक सञ्जाल सञ्चालनका लागि आवश्यक प्रक्रिया मिलाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई जिम्मा दिएको थियो । मन्त्री गुरुङले निष्क्रय भएका सामाजिक सञ्जाल पुनःसञ्चालनमा आएको जानकारी दिए ।

मन्त्रिपरिषद् निर्णयलगत्तै सामाजिक सञ्जाल सञ्चालनमा आइसकेको उनले बताउनुभयो । यही भदौ १९ गतेदेखि देशभर सूचीकरण नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय गराइएको थियो ।

झण्डै डेढ वर्षदेखि सामाजिक सञ्जाल सूचीकरणका लागि पटकपटक छलफल भएको जनाउँदै गुरुङले सरकारकोतर्फबाट आग्रह गरिएको भए पनि उनीहरूले अस्वीकार गर्दै आएको अवस्थामा बाध्यात्मक परिस्थितिका कारण निष्क्रिय बनाउने निर्णय गरिएको उल्लेख गरे । उनले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुभएकोसमेत जानकारी दिए ।

तर सामाजिक सञ्जाल बन्द गर्ने निर्णयका कारण सरकारले कुनै पश्चाताप नगरेको मन्त्री गुरुङले बताए । ‘यही कुरालाई बहाना बनाएर आन्दोलन भएका कारणले सामाजिक सञ्जालहरू खुलाउने निर्णय गरिएको हो,’’ उनले बताए ।

प्रतिबन्ध लगाइएका मध्येका एक सामाजिक सञ्जाल एक्सले नेपालको राष्ट्रिय स्वाभिमानको कदर नहुनेगरी जवाफ फर्काएको प्रधानमन्त्रीले मन्त्रिपरिषदमा ब्रिफिङ गरेका थिए । एक मन्त्रीका अनुसार एक्सले नेपालमा दर्ता नै नगर्ने बताएको छ ।

जेनजीहरूको प्रदर्शनका कारण सोमबार काठमाडौँमा १७ र इटहरीमा दुई जनाले ज्यान गुमाएका थिए । चर्को विरोध र सत्तारुढ दलबाटै दबाब थेग्न नसकेपछि अन्ततः सरकार निर्णयबाट पछि हटेको हो ।

सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गत १९ भदौमा मन्त्रीस्तरीय निर्णय गरेर सामाजिक सञ्जाल बन्द गराएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु