Tuesday, May 26, 2026
Zenith Migration Education
Tuesday, May 26, 2026

सिड्नीमा झापाली समाज अष्ट्रेलियाको बारबेक्यु भेटघाट सम्पन्न

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । झापाली समाज अष्ट्रेलियाले सिड्नीमा ‘झापाली बारबेक्यु भेटघाट’ कार्यक्रम सम्पन्न गरेको छ । आइतबार सिड्नीको Auburn Friendship Park मा आयोजना गरिएको सो भेटघाट कार्यक्रममा समाजका उपाध्यक्ष निरज खतिवडाले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा विशेष गरी युवामाझ बढ्दो ग्याम्बलिङ–जुवाको समस्याबारे सचेतना जगाउने उद्देश्यले झापाली समाजले स्थानीय निकायसँग सहकार्य गर्दै अगाडि बढ्ने जनाएको छ । कार्यक्रममा समुदायका सयौं सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओसिनिया क्षेत्रीय संयोजक तथा झापाली समाज अष्ट्रेलियाका संस्थापक अध्यक्ष दिनेश पोखरेलले समाजका गतिविधि प्रति सन्तोष व्यक्त गर्दै अझ व्यापक सामाजिक जनचेतना अभियानमा लाग्नु पर्ने बताए । त्यसैगरी, NSW राज्य संयोजक उषा बारिया पोखरेलले महिला र युवाको सक्रिय सहभागिता बिना समाज सबल नहुने उल्लेख गर्दै सबैलाई हातेमालो गरेर अघि बढ्न आह्वान गरिन् । पोखरेलले युवामाझ बढ्दो ग्याम्बलिङ–जुवाको समस्यालाई न्यूनिकरण गर्न समुदायसँग हातेमलो गर्ने बताइन् ।

अष्ट्रेलियन नेपाली पत्रकार संघका अध्यक्ष कृष्ण तिवारीले सञ्चारमाध्यमले समुदायको आवाज उजागर गर्न पुलको काम गरेको बताउदै एन्जा र सामाजिक संस्थाबीच सहकार्य गरी युवामाझ बढ्दो ग्याम्बलिङ–जुवाको जनचेतना अभियानमा सधैं साथ दिने बताए ।\सो अवसरमा ग्याम्बलिङ क्षेत्रमा कार्यरत भविश श्रेष्ठले जुवाले परिवार र समाजमा पार्ने असरबारे जानकारी दिँदै सचेत रहन युबाहरुलाई आग्रह गरे । झापाली समाजसँग सहकार्य गरेर अगाडि बढने बताए । समापन मन्तव्य दिँदै झापाली समाज अष्ट्रेलियाका अध्यक्ष अशोक उप्रेतीले युवाहरूसँग मिलेर अष्ट्रेलियामा बढ्दो ग्याम्बलिङ समस्याविरुद्ध सचेतना अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

उप्रेतीले आगामी दिनमा युवाहरूको क्षमता विकास, महिला सशक्तीकरण र नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति र पहिचानसँग जोड्ने खालका कार्यक्रमहरू सञ्चालन गरिने पनि जानकारी दिए ।

कार्यक्रममा सामाजिक अभियन्ता भवानी ओली, एनआरएनए अष्ट्रेलिया पूर्व अध्यक्ष नन्द गुरुङ, एनआरएनए न्यु साउथ वेल्स सचिब प्रताप पन्थी, एनसीसी सदस्य जीतेन्द्र श्रेष्ठ, पूर्व जनसम्पर्क समिति अष्ट्रेलियाका पूर्व अध्यक्ष कृष्ण गिरी, एन्जाका सल्लाहकार डा. राजु मानन्धर प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका संरक्षक अजय राजबंशी, नवलपुर समाज अष्ट्रेलियाका अध्यक्ष खेमराज पंगेनीलगायत समुदायका प्रतिष्ठित व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमकै क्रममा हालै सम्पन्न एनआरएनए अष्ट्रेलिया निर्वाचनमा विजयी भएकाहरूलाई सम्मान समेत गरिएको थियो ।

भेटघाट कार्यक्रममा सहभागीहरूले आपसी भेटघाट, सांस्कृतिक आदान–प्रदान र रमाइलोसहित स्वादिष्ट बारबेक्यु भोजनको पनि भरपुर आनन्द लिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु