काठमाडौँ । सत्तारूढ नेपाली कांग्रेसले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय प्रति असन्तुष्टि जनाएको छ । आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले समाजिक सञ्जालको नियमन राम्रो भए पनि बन्द गर्नु नहुनेमा जोड दिएका हुन् । यस विषयमा कांग्रेसले सरकारसँग छलफल गर्ने निर्णय गरेको छ ।
कांग्रेस नेताहरुले सरकारको निर्णयको विरोध पनि गरेका छन् । सामाजिक सञ्जाल बन्द गरेर समस्याको समाधान नहुने कांग्रेसको भनाइ छ । सामाजिक सञ्जालहरुले नेपालमा दर्ता गर्न अटेर भने गर्न नहुने भन्दै कांग्रेसले छलफलबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिएको छ ।
सरकारले निर्देशिका अनुसार नियमन गर्न खोज्दा समस्या देखिएको भन्दै बैठकमा कांग्रेस नेताहरुले कानुन बनाएर मात्रै नियमन गर्नुपर्नेमा जोड दिएका थिए । बैठकमा मनाङको उपनिर्वाचनमा दल दर्ता गर्ने विषयमा पनि छलफल भएको थियो ।



