Thursday, April 30, 2026
Zenith Migration Education
Thursday, April 30, 2026

अफगानिस्तानी भूकम्पपीडितको पीडामा वर्षाले थप दुःख

Zenith Migration Education

नुर्गल (अफगानिस्तान) । पूर्वी अफगानिस्तानमा भूकम्प गएको चार रात र दिनपछि खान जमान हनाफीले आफूले जिन्दगीमा पहिलो पटक सबैभन्दा खराब अवस्थालाई सहनु परेको बताएका छन् । भूकम्पले घरबासबिहीन बनाएपछि खुला आकाशमा रात बिताइरहेका उहाँ र उहाँजस्तै हजारौँ नागरिकको पीडामा यही समयमा आएको बर्षाले नुनचुक छर्ने काम गरेको छ ।

पेशाले किसान रहेका ३५ वर्षीय हनाफी र सयौँ गाउलेहरूले आफ्नो गाउँलाई ‘सरकार र सहायता समूहले बिर्सेको’ बताएका छन् ।

“पानी परिरहेको छ र पनि हामीलाई खुला ठाउँमा बस्नुको विकल्प छोडिएको छैन,” आफ्नो गाउँ शेल्टको भग्नावशेषबाट टाढा परिवारसँग मकैबारीमा सुतेका उनले एएफपीसँग भने ।

तालिवान सत्तामा आउनुभन्दा पहिले पाकिस्तानबाट आउने र जाने लडाकुहरूका लागि तस्करी मार्ग र करिडोरका रूपमा चिनिने यी उपत्यकाका पहाडमा माटोका घरहरू थिए । ती बासस्थान एकाधबाहेक सबै भग्नावशेषमा परिणत भएका छन् । नभत्किएका घरहरू पनि भूकम्पका कारण चर्केर बस्न योग्य छैनन् ।

आइतबार राति ६.० म्याग्नीच्यूडको भूकम्प जाँदा ती घरहरु ठूलो मात्रामा ध्वस्त भएका थिए । वनका लागि प्रसिद्ध कुनार प्रान्त भूकम्पबाट सबैभन्दा बढी प्रभावित भएको छ । यो भूकम्प देशको इतिहासमा सबैभन्दा घातकमध्येको एक थियो ।

आइतबारको भूकम्पका कारण अहिलेसम्म दुई हजार २०० भन्दा बढीको ज्यान गइसकेको छ भने कैयौँ अझै सम्पर्कविहीन छन् ।

अराजकता

“भूकम्पबाट बढी प्रभावित शेल्टमा ३५० घर र मामा गोलमा ३०० घर थिए, हामीले ६८ वटा मात्र टेन्ट वितरण गरेको सुनेका छौँ,” हनाफीले भने ।

उनले भने, “यो ठाउँ बस्न योग्य छैन, तर हामीसँग कुनै विकल्प छैन। हामी गरिब छौं । हामी चाहन्छौं कि सरकार र सहायता समूहहरूले हामीलाई हाम्रो घरहरू पुनर्निर्माण गर्न मद्दत गरून् ।”

तालिवान अधिकारीहरूले भूकम्पको क्षति व्यापक रहेको भन्दै आफू एक्लैले यसको सामना गर्न नसक्ने कुरा स्वीकार गरिसकेका छन् ।

संयुक्त राष्ट्रसङ्घ र गैरसरकारी संस्थाहरूले अन्तर्राष्ट्रिय सहायतामा तीव्र गिरावट र छिमेकी देशहरूबाट निष्कासित लाखौँ आप्रवासीहरूको फिर्तीको सामना गरिरहेकाले उनीहरूको स्रोतको विस्तार भइनसकेको तालिवान सरकारका अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूले भूकम्पबाट नजिकका सहरहरूलाई जोड्न र आवतजावतलाई सहज बनाउनका लागि पहिलो चरणमा कुनारको भिरालो जमिनमा बुलडोजर पठाई भूकम्पका कारण भासिएका केही साँघुरा, घुमाउरो सडकहरूलाई जोड्ने काम गरिरहेका छन् । यसले आवागमनलाई सहज बनाउने र गाउमा सहयोग पुर्‍याउन सहयोग हुने विश्वास उनीहरूको छ ।

खान सइद देश्माशलाई एक दर्जन घाइते आफन्तहरूको साथ हेलिकप्टरबाट उनको गाउँ मिन्जेगालेबाट छिमेकी नान्गाहार प्रान्तको राजधानी जलालाबादको एक अस्पतालमा लगिएको थियो। उनले भने, “कच्ची सडकबाट अस्पताल लगिएको भए सायद जीवन रहन्नथ्यो होला, हवाइ उद्धारका कारण बाँच्न त पाइयो । अब के गरी जीवन जीउने ? बाँच्ने आधार सबै गुमेका छन् ।”

कृषि कर्मलाई आफ्नो पेशा बनाएका ४७ वर्षीय देश्माशले भूकम्पमा परी आफ्ना सबै गाई र भेडासहित परिवारका छ जना सदस्य गुमाएका छन् । उनले भने, “सबै जना आघातमा परेका छन्, यो अराजकता हो । हामी अब सीधा सोच्न पनि सक्दैनौ

सबै घरमा क्षति
अब एउटा मात्र कुरा निश्चित छ, देशमाशले भने, “अब यी गाउँहरूमा बस्न सम्भव छैन। त्यहाँ अझै पनि पराकम्पनहरू आइरहेका छन्, धेरै घर ध्वस्त भएका छन् । हामीलाई अन्यत्र स्थानान्तरण गर्न आवश्यक छ ।” तर ३५ वर्षीय अब्दुल आलम नेजामीले आफू आफ्नो गाउँ मसूदमा बस्न चाहेको बताए ।

संयुक्त राष्ट्रसङ्घका अनुसार करिब ८५ प्रतिशत मानिस दैनिक एक डलरमा बाँचिरहेका देशमा भूकम्पमा ढलेका वा पहिरो र चट्टानले क्षति पुर्‍याएका सबै कुराको मर्मत गर्न उनीहरूले शून्यबाट सुरु गर्नुपर्नेछ ।

“अवरुद्ध सडक खुलाउने काम भइरहेको छ, फसल पूर्ण रूपमा नष्ट नहोस् धन्नका लागि सिंचाइ कुलो र जलाशयको पनि पुनर्निर्माण गर्न आवश्यक छ,” नेजामीले भने ।

अहिलेका लागि उहाँ आफ्नो तात्कालिक जीवनयापनको स्थितिमा केन्द्रित छन् ।

“दुई–तीन परिवारका लागि एउटा मात्र पाल छ, ठूलो पानी पर्दा चुहिने हुँदा यो ‘अस्थायी घर’मा पनि पीडा हुने गरेको छ,” उनले भने ।

उनले थप्दै, “वर्षा रोकिएको छैन, हिजो रातिदेखि फेरि वर्षा भइरहेको छ ।”

मजार दारामा पनि भग्नावशेषबाट निकालिएको त्रिपालमा ‘प्वाल छन् यसले हामीलाई वर्षाबाट जोगाउँदैन,” ४८ वर्षीय किसान जहीर खान साफीले भने ।

साफीले भने, “हामी पालमा बच्चाहरूलाई राख्छौँ । उनीहरूलाई पूर्ण ओत पुगेको छैन । तिनीहरूको पनि लुगा भिजेका छन् र फेर्नका लागि केहि पनि छैन ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु