Thursday, April 30, 2026
Zenith Migration Education
Thursday, April 30, 2026

समृद्धिका लागि कला, साहित्य संस्कृतिको विकास हुनुपर्छः राष्ट्रपति पौडेल

Zenith Migration Education

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि कला, साहित्य, सङ्गीत र संस्कृति अर्थात् प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेको बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८२ का विजयी कविलाई सोमबार यहाँ पुरस्कार वितरण गर्दै उहाँले भौतिक विकासले मात्र मुलुकको समृद्धि नहुने भएकाले प्राज्ञिक क्षेत्रको पनि विकास गरिनुपर्नेमा जोड दिएका हुन् ।

राष्ट्रपति पौडेलले नेपाल विभिन्न भाषा, जाति र अनेकौँ संस्कृतिको साझा थलो भएकाले यसको गरिमालाई जोगाउन सबैले भूमिका खेल्नुपर्ने बताए । उनले प्राज्ञिक क्षेत्रमार्फत नेपालको पहिचानलाई विश्वमाझ चिनाउन प्रतिष्ठानको भूमिका अझ महत्त्वपूर्ण हुने धारणा राखे ।

“संसारको सर्वोच्च शिखर सगरमाथालगायत उच्च हिमशृङ्खलाले सुशोभित, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि र कहिल्यै पराधीन नभएको स्वाधीन र स्वतन्त्र देश नेपाललाई विश्वसामु चिनाउने काममा प्रतिष्ठानको महत्त्वपूर्ण भूमिका रहन्छ”, उनले भने, “नेपाली जनताको लामो त्याग र सङ्घर्षबाट प्राप्त उपलब्धिलाई प्राज्ञिक रूपमा स्थापित गर्ने दायित्व पनि प्रतिष्ठानको हो । त्यसैले प्रतिष्ठानले आफ्नो दायित्व कुशलतापूर्वक बहन गर्न सक्षम र सफल हुने विश्वास लिएको छु ।”

राष्ट्रपति पौडेलले भाषा, साहित्य भनेको देशको ढुकढुकी, पहिचान र आत्मा हो भने । “साहित्य भाषाको कलात्मक अभिव्यक्ति हो । साहित्य र समाज एक अर्काका पूरक हुन् । साहित्य ज्ञान, संस्कार, संस्कृति र जीवन हो । यसले दिने शिक्षा, सन्देश, चेतना, विचार र विवेचना अपरिमित छ । त्यसैले हरेक मानिसको जीवनमा भाषा, साहित्य, संस्कृति, दर्शन अत्यावश्यक छ”, उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले अनुपम भौगोलिक विविधतासहित विभिन्न जातजाति, भाषा, संस्कृति, परम्परा रहेको नेपाल जस्तो देशको शान र पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृति नै भएको बताए । उनले भने, “यसको संरक्षण, संवर्धन र विकासमा जुट्नु हाम्रो साझा दायित्व हो । सरकारले पनि प्राज्ञिक कर्ममा क्रियाशील प्रतिभाको कदर र सम्मान गरी इतिहास निर्माणमा योगदान दिने भाषा, साहित्य क्षेत्रको विकासलाई सधैँ प्राथमिकता दिनुपर्दछ ।”

राष्ट्रपति पौडेलले राष्ट्रिय कविता महोत्सव, २०८२मा उत्कृष्ट दशभित्र पर्न सबै कविलाई सम्मानपत्र तथा पुरस्कार वितरण गर्दै बधाई तथा सृजना यात्राको उत्तरोत्तर प्रगतिको कामना गरे ।

पुरस्कार पाउनेमा अविनाश भट्टराई, कर्ण सञ्जय, किशन पौडेल, गोमा श्रेष्ठ, चन्द्रमणि चापागाइँ, तुलसी केसी, रमा सुवेदी ‘मिरमा’, शमुएल कोइराला विश्वकर्मा, सन्ध्या महर्जन र सिर्जन अविरल छन् ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानमा प्राज्ञ समूह आएपछि मुगुको रारामा बैठक गरी रारा घोषणापत्रमार्फत् ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने मूल मन्त्रका आधारमा काम गरिरहेको जानकारी दिए ।

प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले तीन वर्षदेखि कविता महोत्सवमा सबै भाषाका कविता प्रस्तुत गराई मूल्याङ्कन गर्ने व्यवस्था मिलाइएको बताउनुभयो । प्राज्ञ सदस्य बाबा बस्नेतले विसं २०२२ देखि कविता महोत्सव सुरु गरिएको जानकारी दिए । कार्यक्रममा पुरस्कृत कविमध्येबाट कर्ण सञ्जयले मैथिली भाषा, तुलसी केसीले नेपाली र सन्ध्या महर्जजनले नेपाल भाषाको कविता वाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु