सिड्नी (अष्ट्रेलिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२७ कार्यकालका लागि भोलि (शनिबार) हुने निर्वाचनको न्यू साउथ वेल्स (एनएसडब्लु) राज्य संयोजक पदका प्रत्याशी राज गुरुङ अन्तिम क्षणसम्म पनि जितप्रति पूर्ण आशावादी देखिएका छन् ।
“समुदायले मलाई विश्वास गरेर अगाडि पठाउने छ,” अन्तिम घडीसम्म पनि आत्मविश्वासका साथ अडिग रहेका गुरूङ भन्छन्, “मतदाताहरूले मेरो अठोट, संघर्ष र समर्पणलाई चिन्ने छन् ।”
चितवनको विरेन्द्र क्याम्पसबाटै राजनीतिक चेतना र नेतृत्व क्षमताको विकास सुरु गरेका गुरूङ अष्ट्रेलियामा बसेपछि पनि नेपाली समुदायमा समाजसेवी र जिम्मेवार व्यक्तित्वका रूपमा चिनिन्छन् । एनएडिफ, जनसम्पर्क मञ्चलगायतका लोकतान्त्रिक सोच भएका संस्था तथा अभियन्ताहरूको बलियो समर्थन पाएका गुरूङले यसपटक भारी मतसहित नेपाली समुदायले आफूलाई विजयी बनाउने विश्वास व्यक्त गरेका छन् ।
उनको अभियानमा अग्रज समाजसेवी, विभिन्न संघसंस्थाका अगुवा, महिला प्रतिनिधि तथा युवाहरूको उल्लेखनीय साथ देखिएको छ । उनी समर्थित प्यानलका अध्यक्ष पदका उम्मेदवार सन्तोष कुँवरको नेतृत्वले पनि गुरूङको टिमलाई थप मजवुत बनाएको छ ।
“यो चुनाव मेरो लागि जित मात्र होइन, समुदायप्रतिको गम्भीर जिम्मेवारी हो, जुन म इमानदारी, आत्मबल र लगनशीलताका साथ पूरा गर्ने छु,” गुरूङको प्रतिबद्धता छ ।



