Thursday, July 16, 2026
Zenith Migration Education
Thursday, July 16, 2026

निराशलाई आशामा बदल्न कटिबद्ध छौँ : राष्ट्रपति पौडेल

Zenith Migration Education

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको ध्यये नै जनताको आवाज सुन्ने, चाहना पूरा गर्ने र सुशासनको माध्यमबाट आर्थिक रूपमा समृद्ध नेपाल निर्माण गर्ने रहेको बताएका छन् ।

राष्ट्रिय विभूति भीमसेन थापाको २५१औँ जयन्तीको अवसरमा शुक्रबार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यही शासन प्रणालीबाट नै हामीले हाम्रा पूर्खा र इतिहासले सुम्पिएको दायित्व पूरा गर्न सक्ने छौँ भने ।

उनले भने, “इतिहासका अनेकौँ कालखण्डबाट गुज्रँदै हाम्रो देश अहिले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणाली अङ्गालेर अघि बढ्दैछ । वास्तवमा यो शासन प्रणालीको ध्येय भनेको जनताको आवाज सुन्ने, जनताको चाहना पूरा गर्ने र सुशासनको माध्यमबाट आर्थिक रूपमा समृद्ध नेपाल निर्माण गर्ने नै हो । यसबाट नै हामीले हाम्रा पूर्खा र इतिहासले सुम्पिएको दायित्व पूरा गर्न सक्छौँ । हामी सबैको ध्यान त्यसतर्फ केन्द्रित होस् भन्न चाहन्छु ।’’

राष्ट्रपति पौडेलले षड्यन्त्रै षड्यन्त्रको अभिशप्त इतिहासलाई बदल्नुपर्ने सोचसहित आफूले लेख लेखेको स्मरण गर्दै भने, “हामी अहिले अभिशप्त इतिहास बदलेर एउटा निष्कपट, खुला र उन्नतशील समाजबाट नेपाललाई डोर्‍याउन कटिबद्ध छौँ । त्यसैले निराश हुन जरूरी छैन ।”

राष्ट्रपति पौडेलले इतिहासको जगमा वर्तमान खडा हुने भन्दै वर्तमानको जगमा भविष्यको आधारशीला तय हुने भएकाले वीर पूर्खाहरूको त्याग, बलिदान र बुद्धिमत्तापूर्ण कार्यबाट नै अहिले हामी यहाँसम्म आइपुगेको स्पष्ट पारे । उनले मुलुकको सार्वभौमसत्ता राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षाको खातिर आफ्नो जीवनको आहुति दिएका राष्ट्रिय विभूति भीमसेन थापा नेपालको इतिहासमा उच्चकोटिका राजनीतिज्ञ भएको पनि बताए ।

उनले दक्षिण एसियामा प्रभाव जमाउँदै आएको औपनिवेशिक साम्राज्य शक्तिलाई परास्त गर्दै मुलुकलाई पराधीन हुनबाट थापाले जोगाएको स्मरण गरे ।

राष्ट्रपति पौडेलले भीमसेन थापाको राष्ट्रपतिको प्रेम, प्रशासनिक क्षमता र राजनीतिक दूरदर्शिताको कारणले नै नेपाल स्वतन्त्र र अटल रूपमा रहन सकेको हो भन्दै आर्थिक, प्रशासनिक, सैनिक, सामाजिक सुधारलगायत राष्ट्रको हित, प्रगति र विकासका लागि गरेको योगदान सदैव सराहनीय रहेको बताए ।

थापाले आर्थिक, प्रशासनिक, सैनिक, सामाजिक सुधारलगायत राष्ट्रको हित, प्रगति र विकासको लागि गरेको योगदान सदैव सराहनीय छ । त्यसैले नेपालको इतिहासमा भीमसेन थापाको स्थान उच्च रहेको स्पष्ट हुन्छ ।” उनले भने । राष्ट्रपति पौडेलले सो अवसरमा कूटनीतिज्ञ डा भेषबहादुर थापालाई यसवर्षको भीमसेन थापा पुरस्कार प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु