काठमाडौँ । भारतको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा दुईजना नेपाली छात्राको मृत्युबारे छानबिन गर्न गठित समितिले ‘कलेज प्रशासन’लाई जिम्मेवार ठहर्याउनुपर्ने भनेको छ ।
किट कलेजमा दुई नेपाली छात्राको मृत्यु भएको घटनाबारे छानबिन गर्न गठित समितिले बुझाएको जाँचबुझ प्रतिवेदनमा सो कुरा उल्लेख छ ।
भारतको अखबार टाइम्स अफ इन्डियाले नेपाली विद्यार्थीको मृत्युप्रति ‘कलेजले प्रशासन’ लाई जिम्मेवार ठह¥याउनुपर्ने भनेको छ । समाचारमा भनिएको छ, प्रतिवेदनमा कलेजको ‘अवैध र गैरकानुनी गतिविधिले’ नेपाली विद्यार्थीको मृत्यु भएको भन्दै त्यस्ता गतिविधि फौजदारी दायित्वअन्तर्गत समेत पर्ने छ ।
केआईआईटी (किट) मा अध्ययनरत २० वर्षीय नेपाली विद्यार्थी प्रकृति लम्साल २०८१ फागुन ४ गते कलेजको होस्टलमा मृत अवस्थामा भेटिएकी थिइन् । आफूमाथि मानसिक दुर्व्यवहारर ब्ल्याकमेल भएकोबारे प्रकृतिले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर कलेजले गम्भीरतापूर्वक नलिँदा उनले मृत्युको बाटो रोजेकी थिइन् ।
त्यसपछि, गत वैशाख १८ गते सोही कलेजमा फेरि अर्की नेपाली विद्यार्थी प्रिसा शाह मृत अवस्थामा भेटिएकी थिइन् । दुवै घटनाबारे विश्वविद्यालय अनुदान आयोग (यूसीजी) ले गठन गरेको समितिले ‘विश्वविद्यालयले यौन दुव्र्यवहारका उजुरीहरूमा कानुनी रूपमा कार्य नगरेको, छात्रावास सुविधा अपर्याप्त भएको, अनुमतिभन्दा बढी विद्यार्थी भर्ना गरेको र विद्यार्थीहरूमाथि बल प्रयोग गरेको जस्ता कुराहरू प्रमुख कमजोरी’ का रुपमा औंल्याएको छ ।
प्रकृतिको न्याय माग्दै क्याम्पसमा नेपाली विद्यार्थीले गरेको प्रदर्शनमा कलेज प्रशासनले दमन गरेको थियो । कलेज प्रशासनको निर्देशनमा सुरक्षागार्डले नेपाली विद्यार्थीमाथि निर्घात कुटपिट गरेका थिए भने प्रशासनले होस्टल छाडेर जान निर्देशन दिएको थियो । घटना बढ्दै जाँदा तनावको स्थिति पैदा भएको थियो ।
यो प्रकरणमा गम्भीर अनुसन्धानको माग गर्दै विद्यार्थीले प्रदर्शन गरेको बेला कलेज प्रशासनले होस्टेल छाडेर जानसमेत चेतावनी दिएको थियो । पछि यो विषयलाई लिएर नेपाल सरकारले समेत कूटनीतिक पहल गर्नुपरेको थियो । कलेज प्रशासनले पछि केही कर्मचारीलाई कारबाही गर्यो भने सुरक्षागार्डहरू पनि पक्राउ परेर छुटे । एक भारतीय युवकलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।



