Wednesday, May 6, 2026
Zenith Migration Education
Wednesday, May 6, 2026

एकै वर्षमा २९ जनाले त्यागे नेपाली नागरिकता

Zenith Migration Education

स्याङ्जा । आर्थिक वर्ष ०८१/०८२ मा स्याङ्जामाबाट एकै वर्षमा २९ जना नेपाली नागरिकले नागरिकता त्याग गरेका छन् ।नेपाली नागरिकता परित्याग गरेर सबैभन्दा धेरै नौ जनाले अमेरिकी र पाँच जनाले बेलायती नागरिकता लिएका हुन् ।

यस्तै क्यानडा र हङकङ तीन/तीन जना, दुई/दुई जनाले अष्ट्रेलिया, पोर्चुगल र भारतको नागरिकता लिएका छन् । यस्तै नेपाली नागरिकता परित्याग गरेर जापान, फिन्ल्याड र नर्वेको एक एक जनाले नागरिएका लिएका हुन् । विसं. २०६७/२/३ देखि असार मसान्तसम्म १०६ जनाले नेपाली नागरिकता परित्याग गरेका हुन् ।

डीभी, पीआर लिएका र विदेशी नागरिकसँग विवाह गरेकाले नागरिकता त्याग गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए । उनले विदेशी नागरिकता लिने प्रक्रिया थालेसँगै नेपाली नागरिकता परित्याग गर्नुपर्ने बताए ।

राजनीतिक अस्थिरता, भ्रष्टाचार, बेरोजगार, शिक्षा र स्वास्थ्यलाई मुख्य कारण देखाउदै विदेशी मूलुक छिरेका नेपाली नागरिक पछि उतै रमाउने र अन्ततः उतैका नागरिक भएर बस्ने गरेका हुन् । यस्तै यहाँ एक जनाले हङकङको नागरिकता त्याग गरेर नेपाली नागरिकता लिएका छन् ।

यस्तै, यस आर्थिक वर्षमा १६ जना भारतियले अङ्गिकृत नेपाली नागरिकता लिएका छन् भने २० जनाले गैर आवासिय नेपाली नागरिकता लिएका छन् ।

नेपाली युवासँग बिवाह गर्ने विदेशी युवतिले वैवाहिक अङ्गिकृत नागरिकता लिएका हुन् भने नेपालबाट विभिन्न कारण विदेश गएका र लामो समय बसेर विदेशको नागरिकता पाएका र नेपालको परित्याग गरेकालाई यो नागरिकता प्रदान गरिएको हो ।

गैर आवासिय नेपाली नागरिकता लिनेलाई नेपालको राजनैतिक अधिकार र सरकारी जागिरको अवसर बाहेक सबै सेवाहरु व्यापार व्यवसाय, घर जग्गा खरिद लगायतका कारोबार गर्न पाउने सप्रजिअ पौडेलले बताए । यस्तै, यसै आबमा १० जनाको नागरिकता र एक जनाको प्रतिलिपि नागरिकता रद्द प्रशासनले गरेको छ ।

आर्थिक वर्ष ०८१/०८२ स्याङ्जाबाट वंशजतर्फ सात हजार ८५५ नयाँ, प्रतिलिपि आठ हजार ४८१, अङ्गिकृत १६ र गैरवासिय गरेर १६ हजार ३७२ जनाले नागरिकता लिएका छन् । यस्तै ११ हजार भने ११ हजार ८४२ राहदानी सिफारित भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु