सिड्नी (अष्ट्रेलिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको चुनाव नजिकिँदै गर्दा विभिन्न समूहका उम्मेदवारहरुले आफ्नो चुनावी आभियान र प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।
यसैबीच, जुलाई २६ मा हुने एनआरएनए अष्ट्रेलिया निर्वाचनलाई लक्षित गरी टिम एकताले आइतबार सिड्नीको पारामिटामा एक कार्यक्रमको आयोजना गरी अष्ट्रेलियाका प्रवासी नेपालीहरुको शान र मानका निम्ति लागिपर्ने प्रतिबद्धता जनाएको छ ।
अध्यक्ष उम्मेदवार ढकालले आफू लामो समयदेखि अष्ट्रेलियामा रहेर नेपाली समाज र समुदायको हक हितका निम्ति लागि पर्दै आएको जानाकरी दिएका छन् ।
उनले भने, ‘‘सबैको साथ पाएको छुँ । निर्वाचन अवश्य जित्ने छुँ ।’’ साथै उनले प्रवासी नेपालीहरू एक भएर अगाडि बढ्नुपर्ने कुरा तर्फ जोड दिएका छन् ।

कर्मभूमिदेखि जन्मभूमिलाई जोडेर आफू र आफ्नो समूह अष्ट्रेलियाका प्रवासी नेपालीहरूको शान र मानका निमित्त लागि पर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
ढकाल लामो समयदेखि अष्ट्रेलियाको प्रवासी नेपालीहरूका माँझ सामाजिक अभियन्ताको रूपमा स्थापित छन् । यस पटकको आफ्नो उम्मेदवारीलाई ढकालले सबैबाट साथ र सद्भाव मिलेको विश्वास व्यक्त गरे । कार्यक्रममा ढकालले यो र उ समूहभन्दा पनि आफ्नो समूह र आफूलाई सबै वर्ग र तहबाट साथ मिलेको विश्वास पनि व्यक्त गरेका छन् ।
यसैबीच अध्यक्ष उम्मेदवार ढकालको टिम एकता समूहले मङ्गलाबार मेलबर्नमा मिट एण्ड ग्रिटको आयोजना गर्ने भएको छ ।
कार्यक्रममा वरिष्ठ समाजसेवी रन्जु वाग्ले, देव गुरू भवानी ओलीलगायतका सामाजिक व्यक्तिहरुको उपस्थिति रहेको थियो ।





