सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियाको न्युक्यासलमा गुर्खाज तेक्वान्दो एकेडेमी स्थापना गरिएको छ । नेपाली तेक्वान्दो खेलाडी रोहित तामाङले एक महिना अगाडि सो स्थानमा तेक्वान्दो एकेडेमी स्थापना गरेका हुन् ।
पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा पाँच पटकका राष्ट्रिय च्याम्पियन रोहितको एकेडेमीमा हाल १३ जनाले प्रशिक्षण लिइरहेका छन् ।
सिड्नीमा अघि सन् २०२० मा जीवन श्रेष्ठले सो एकेडेमीको स्थापना गरिसकेका थिए । त्यस्तै एक वर्षअघिइस्ट मेटल्याण्डमा तामाङ र उज्जवल गुरागाईंले संयुक्त रुपमा एकेडेमीको स्थापना गरेको थिए भने यो वर्ष न्युक्यासलमा तामाङ आफैले तेक्वान्दो स्थापना गरेका हुन् ।
प्रशिक्षक तामाङका अनुसार मेटल्यान्ड र न्युक्यासलमा अहिले २८ जनाले प्रशिक्षण लिइराखेका छन् । उनले तेक्वान्दोप्रति नयाँ पुस्तालाई लगाव बढाउन एकेडेमीको स्थापना गरेको जानकारी दिए ।
तेक्वान्दोलाई अझ उच्च स्तरमा पुर्याउने उद्देश्यका साथ आफ्नो प्रशिक्षणमार्फत विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास र समुदायको भावना विकास गर्ने प्रयास मुख्य प्रशिक्षक तामाङको छ ।
नेपालमा हुँदा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा आबद्ध रहेका उनी चौथो डान ब्ल्याक बेल्ट हुन् । उनले नेपालबाट लन्डन ओपन च्याम्पियनसिपमा रजत पदक जितेका छन् ।
यस्तै उनले नेपालबाट थाइल्यान्डमा ओलम्पिक छनोट खेलसँगै कोरियन ओपनजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाइसकेका छन् ।
नेपालको सिन्धुपाल्चोकमा जन्मिएका तामाङ सन् २०१७ मा अष्ट्रेलिया आएका थिए । यहाँ आएपनि उनले आफ्नो तेक्वान्दो कर्मलाई भने छाड्न सकेका छैनन् ।
अष्ट्रेलियामा उनले न्यु साउथ वेल्स (एनएसडब्लु) च्याम्पियनसिपमा स्वर्ण र गोल्डकोस्ट ओपनमा रजत पदक जितेका थिए । खेलाडी हुँदै उनी अहिले प्रशिक्षकका रुपमा सक्रिय छन् ।



