Thursday, May 7, 2026
Zenith Migration Education
Thursday, May 7, 2026

सफा यु–२० महिला च्याम्पियनसिप : भुटानमाथि नेपालको सानदार जित

Zenith Migration Education

कठमाडौँ । साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानमाथि ८–० गोलले जित हात पारेको छ । शनिबार ढाकास्थित बसुन्धरा स्पोर्टस् ग्राउन्डमा जारी खोलमा नेपालले भुटानमाथि गोल वर्षा गर्दै जित हात पारेको हो ।

नेपाललाई जित दिलाउन पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक गरिन् । समीक्षा मगर र कुशुम खतिवडाको नाममा समान एक गोल रह्यो ।

योसँगै आयोजक बंगलादेशलाई उछिन्दै नेपाल शीर्ष स्थानमा उक्लिएको छ । नेपालले पाँच खेलबाट १२ अङ्क पुर्‍याएको छ । एक खेल कम खेलेको बंगलादेशको पनि समान अङ्क छ । तर गोलअन्तरमा नेपाल अगाडि छ । नेपालले ३० गोल गर्दा चार गोल खाएको छ ।

बंगलादेशले भने १९ गोल गर्दै चार गोल दिएको छ । जसमा दुई गोल नेपालले गरेको थियो । शनिबार नै दोस्रो खेलमा बंगलादेश र श्रीलंका खेल्नेछन् । पहिलो खेलमै ९–१ को जित निकालेको बंगलादेश सम्भवतः पुनः शीर्ष स्थानमा फर्किने छ ।
यस्तो भएमा सोमबार हुने नेपाल र बंगलादेशबीचको खेलले उपाधि छिनोफानो लगाउने छ ।

खेलको ४४औं सेकेन्डमै नेपालले सुरुआती अग्रता लियो । सरिता नाथको लामो प्रहारलाई भुटानी डिफेन्डरले रोक्ने प्रयास गरेका थिए । तर सिक्स यार्ड बक्सनजिक रहेकी मीनाको खुट्टामा बल पुग्यो। उनले उक्त बललाई माथिल्लो बारतर्फबाट सहजै गोलमा परिणत गरिन् ।

नवौं मिनेटमा समीक्षाले अर्को गोल थपिन् । सुक्रिया मियाँको लामो पासलाई पेनाल्टी बक्सनजिक रहेकी मीनाले रोकेको थिइन् । उनले भुटानी डिफेन्डरलाई रोक्दै दिएको बललाई समीक्षाले लामो प्रहारमार्पत गोलमा परिणत गरेकी हुन् ।

त्यसको तीन मिनेटपछि नै मीनाले व्यक्तिगत दोस्रो गोल गरिन् । सुक्रिया एक्लैले पेनाल्टी बक्सनजिक पुर्‍याएर उपलब्ध गराइदिएको बललाई भुटानी गोलकिपरले रोकेकी थिइन् । तर रिबाउन्डमा उनले हल्का टच गर्दै गोल गरिन् ।

२३औं मिनेटमा नेपालले अग्रता ४–० मा पुर्‍यायो । मीनाले दिएको पासलाई गोल लाइनजिक रहेकी पूर्णिमाले सहजै गोलमा फरिणत गरिन् । इन्जुरी समयमा पूर्णिमाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरिन् ।

सरिताले प्रहार गरेको बल भुटानी गोलकिपरले बचाउने प्रयास गरेकी थिइन् । तर रिबाउन्डमा आएको बललाई पूर्णिमाले हेडरमार्फत गोल गरिन् ।

इन्जुरी समयको अन्तिम सेकेन्डतिर पूर्णिमाले ह्याट्रिक पूरा गरिन् । सेनु परियारले बक्सबाट दिएको कट पासलाई उनले भुटानी डिफेन्डरलाई बिट गर्दै प्रहार गरेको बलले सिधै जाली चुम्यो ।

जारी प्रतियोगितामा उनको यो दोस्रो ह्याट्रिक हो । यसअघि उनले भुटानविरुद्धको ५–१ को जितमा पनि यो उपलब्धि हासिल गरेकी थिइन् । योसँगै शीर्ष गोलकर्ताको सूचीमा अग्रस्थानमा रहेकी उनले आफ्नो गोल सङ्ख्या १० मा पुर्‍याएकी छन् ।

६४औं मिनेटमा कुशुमले अग्रता ७–० मा पु¥याइन् । वैकल्पिक खेलाडीको रूपमा मैदान उत्रिएकी उनले सुक्रियाको क्रसमा गोल गरेकी हुन् । लगत्तै सुक्रियाको उस्तै क्रसमा अनमार्क मीनाले सहजै गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

जारी प्रतियोगितामा मीनाको यो दोस्रो ह्याट्रिक हो । यसअघि उनले श्रीलंकाविरुद्ध ७–० को जित निकाल्ने क्रममा ह्याट्रिक गरेकी थिइन् । योसँगै उनको गोलसङ्ख्या ७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु