Friday, May 8, 2026
Zenith Migration Education
Friday, May 8, 2026

जर्मनीबाट अमेरिकातर्फ गाडी निर्यातमा भारी गिरावट, नयाँ आयात शुल्कको प्रभाव

Zenith Migration Education

बर्लिन । संयुक्त राज्य अमेरिकाले युरोपेली सङ्घबाट ल्याइने गाडीहरूमा नयाँ आयात शुल्क (कर) लगाएको केही समयमै जर्मनीबाट अमेरिकातर्फ गाडी निर्यात अप्रिल र मे महिनामा तीव्र रूपमा घटेको देखिएको छ । यद्यपि जनुअरीदेखि मे महिनासम्मको अवधिमा समग्र निर्यातमा जम्मा १.९ प्रतिशतको मात्र गिरावट आएको जर्मन सङ्ख्यात्मक कार्यालयले जनाएको छ ।

वर्षको पहिलो तीन महिनामा अमेरिकी ग्राहकले शुल्क लागू हुनु अघि गाडी अर्डर गरेकाले निर्यातमा १४.७ प्रतिशतको वृद्धि देखिएको थियो । तर एप्रिल ३ मा २५ प्रतिशतको नयाँ आयात शुल्क लागु भएपछि जर्मन गाडी निर्यात २३.५ प्रतिशतले घटेको हो ।

जर्मनीको सवारी साधन उद्योग सङ्घ (भीडीए) ले यसअघि नै यस्तो शुल्कले युरोपेली संघबाट अमेरिकातर्फ गाडी पठाउने कार्यमा गम्भीर असर पर्ने चेतावनी दिएको थियो । सङ्घले भनेको छ, “थप शुल्कले स्वतन्त्र र नियममा आधारित व्यापारमा नराम्रो असर पार्दछ ।”

सन् २०२४ मा जर्मनीले अमेरिका तर्फ ३६ अर्ब ८० करोड युरो बराबरका गाडी निर्यात गरेको थियो भने सात अर्ब ९० करोड युरो बराबरका गाडी आयात गरेको थियो ।

युरोपेली सङ्ख्यात्मक संस्था यूरोस्ट्याटका अनुसार, अमेरिका अझै पनि युरोपेली गाडीहरूको सबैभन्दा ठूलो निर्यात गन्तव्य हो । कुल घरेलु मूल्यवृद्धिको २० प्रतिशत हिस्सा अमेरिकी बजारबाटै आउने गर्छ । जर्मनी युरोपको सबैभन्दा ठूलो गाडी निर्यात गर्ने देश हो ।

फक्सवागन, मर्सिडिज–बेन्ज र बीएमडब्लु जस्ता जर्मन कम्पनीहरूले २०२४ मा युरोपेली संघबाट अमेरिका पठाइएका गाडीहरूको झण्डै ७३ प्रतिशत हिस्सा ओगटेका थिए । ती सबै कम्पनी अहिले शुल्क वृद्धिका कारण ठूलो दबाबमा छन् ।

पोर्शे, जुन फक्सवागन समूहअन्तर्गत पर्छ, हाल खर्च कटौतीको योजना बनाउँदैछ । पोर्शेका प्रमुख ओलिभर ब्लुमले कर्मचारीलाई पठाएको पत्रमा कम्पनीको हालको अवस्था कमजोर रहेको र संरचनात्मक परिवर्तन आवश्यक हुने बताए ।
पोर्शेले अप्रिल र मे महिनामा मात्र नयाँ अमेरिकी शुल्कका कारण करिब ३० करोड युरो बराबरको अतिरिक्त खर्च व्यहोर्नु परेको जनाएको छ ।

उता, जर्मनीमा अमेरिका बाट ल्याइने गाडीहरूको मागमा पनि भारी गिरावट आएको छ । जनुअरीदेखि मे महिनासम्म अमेरिका बाट आयात हुने गाडी ३० प्रतिशतभन्दा बढीले घटेका छन् । अहिले अमेरिका चीनपछि पाँचौँ स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु