Friday, May 8, 2026
Zenith Migration Education
Friday, May 8, 2026

एनआरएनए निर्वाचन : संयोजकमा भट्टराईको उम्मेदवारीसँगै तात्यो न्यू साउन वेल्स राज्यको माहोल

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लु) राज्य समन्वय परिषद्को आगामी कार्यकालका लागि रोशन भट्टराईले राज्य संयोजक पदमा उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेसँगै चुनावी माहोल ह्वात्तै बढेको छ । आगामी २०२५–०२७ का लागि यही जुलाई २६ मा निर्वाचन हुँदैछ ।

निर्वाचन नजिकिएसँगै अष्ट्रेलियामा चुनावी माहोल ह्वात्तै बढेको छ । अहिले आ–आफ्नो पक्षमा मत झार्न उम्मेदवारहरु प्रचारप्रसारमा व्यस्त छन् ।

एक दशकभन्दा बढी समयदेखि अष्ट्रेलियामा रही सामाजिक सेवामा सक्रिय रहँदै आएका भट्टराई विद्यार्थी हकहित र पारदर्शी नेतृत्वको पक्षमा अघि बढ्न चाहन्छन् । “नेपाली बनेर नेपालीको सेवा गर्ने मेरो सधैंको रुचि हो,” भट्टराईले भने ।

यस पटकको निर्वाचनमा उनी विद्यार्थी समस्यालाई प्राथमिकतामा राख्दै विद्यार्थी काउन्सिललाई अझ प्रभावकारी बनाउने, पारदर्शी नेतृत्व स्थापित गर्ने लगायतका योजनासहित चुनावी मैदानमा उत्रिएका छन् ।

झापाको केचनामा जन्मिएका भट्टराईको बाल्यकाल बाँकेको कोहलपुरमा बितेको थियो । ग्रीनपिस बोर्डिङ स्कूलबाट माध्यमिक तहसम्मको अध्ययनपछि उनी काठमाडौँको जेभिएर इन्टरनेशनल कलेजबाट +२ तह उत्तीर्ण गरे । अध्ययनमा तिक्ष्ण भएकाले उनलाई छात्रवृत्तिसमेत प्राप्त गरिएको थियो ।

बुबा–आमाका तीन सन्तानमध्ये जेठा छोरा रहेका रोशनका दुई बहिनीहरू छन् । हाल उनका अभिभावकहरू झापाको बिर्तामोडमा छन् ।

सन् २०१२ मा उच्च अध्ययनका लागि अष्ट्रेलिया आएका भट्टराईले मक्वारी विश्वविद्यालयलगायतका शिक्षण संस्थाबाट अध्ययन पूरा गरिसकेका छन् । हाल करिअर काउन्सिलरको रूपमा कार्यरत उनीले सँगसँगै इभेन्ट म्यानेजमेन्टसमेत गरिरहेका छन् ।

उनी विगत दस वर्षदेखि सामाजिक कार्यमा कार्यरत रहँदै आएका छन् । एस ह्युम्यानिटी नामक परोपकारी संस्थाको महासचिव भएर काम गरेको लामो अनुभव उनीसँग छ । भट्टराई अहिले एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय समन्वय परिषद् (एनसिसि) सदस्य पनि हुन् ।

डेमोक्र्याटिक गठबन्धनबाट उम्मेदवारी दर्ता गरेका अर्का आकाङ्क्षी राकेश जोशीले उम्मेदवारी फिर्ता लिएपछि उनले भट्टराईलाई समर्थन गर्ने सहमति जनाएका छन् । त्यससँगै भट्टराईको टिमले चुनावी होडमा बलियो उपस्थिति जनाउन थालेको छ ।

भट्टराई सञ्जीव ढकाल (गोर्खाली) नेतृत्वको प्यानलबाट अघि बढेका छन् । उनका प्रतिस्पर्धीहरू टिम एकबाट उषा किरण वाडिया पोखरेल र टिम सन्तोष कुँवरबाट राज गुरुङ रहेका छन् । प्रतिस्पर्धा चुलिँदो अवस्थामा रहेको यस निर्वाचनमा रोशन भट्टराईले समुदायको विश्वास जितेर विजय दिलाउन सबैमा अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु