सिड्नी (अष्ट्रेलिया) । यही जुलाई २६ मा हुन लागेको गैरअवासीय नेपाली संघ (एनआरएनए) निर्वाचनको चुनावी सरगर्मी बढेको छ । अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरुको साझा संस्था एनआरएनए अष्ट्रेलिया अहिले फेरि चुनावी रौनकमा छ ।
एनआरएनए निर्वाचनको तयारी तीव्र बन्दै गर्दा राज्यदेखि सङ्घीय तहसम्म उम्मेदवारहरुको घोषणा, प्रचारप्रसार र रणनीति निर्माणको लहर चलेको छ ।
एनआरएनए अष्ट्रेलियाको सन् २०२५–०२७ को कार्यकालका लागि अध्यक्ष पदका लागि तीन जना मौदानमा छन् । सन्तोष कुँवर, सञ्जीव ढकाल (गोर्खाली) र भैरवप्रसाद ढकाल अध्यक्षका प्रतिस्पर्धी हन् ।
निर्वाचन नजिकिँदै गर्दा मत र मतदाता आ–आफ्नो पक्षमा पार्न अध्यक्ष पदका तीनै जना उम्मेदवार अहिले चुनावी प्रचारप्रसारमा व्यस्त छन् । एक–अर्कालाई पराजित गर्दै अध्यक्ष बन्ने दौडमा उनीहरु छन् ।
वर्तमान कार्यसमितिका महासचिव कुँवरले दोस्रो पुस्ताका नेपालीहरूलाई संस्थागत रूपमा संलग्न गराउनका लागि एनआरएनए अष्ट्रेलियाको संविधानमै उल्लेख भएको ‘सेकन्ड जेनेरेशन विङ’ लाई प्रभावकारी रूपमा सञ्चालन गर्ने योजना अघि सारेका छन् । युवाहरूलाई उद्यमशीलता र लगानीमा जोड्ने उद्देश्यले एनआरएनए व्यापार सञ्जालमार्फत विभिन्न स्टार्टअप मेन्टोरशिप कार्यक्रम, लगानी सम्मेलन तथा डायस्पोरा–नेतृत्वमा आधारित इनक्युबेटरहरूको आयोजनासहित चुनावी मौदानमा होमिएका छन् ।
नीतिगत पैरवी र मुलुक तथा समुदायलाई आवश्यक परेका मुद्दाहरूमा सशक्त आवाज बन्ने प्रतिबद्धता पनि कुँवरले जनाएका छन् । उनले विगतका अनुभव, समर्पण र आफ्नो तयारीको आधारमा समुदायको विश्वास जित्ने अपेक्षा राखेका छन् ।
यसैगरी, अर्का अध्यक्ष उम्मेदवार सञ्जीव ढकाल (गोर्खाली) एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष पनि हुन् ।
उनले अष्ट्रेलियामा नेपालीहरुका लागि बहुसांस्कृतिक सामुदायिक हल निर्माण गर्ने एजेण्डा लागि अगाडि सारेस चुनावी मौदानमा उत्रिएका छन् । दोस्रो पुस्तालाई कसरी एनआरएनएमा अगाडि बढाउने, युवा पुस्ताका लागि नयाँ एजेण्डा र एनआरएनए फाउण्डेशनलाई कसरी व्यवस्थित गरी प्रयोग गर्ने लगायतका मुख्य एजेण्डा उनको छ ।
त्यस्तै, अध्यक्षका उम्मेदवार भैरवप्रसाद ढकाल एनआरएनए आइसिसिका सल्लाहकार हुन् ।
विश्वास र एकता पुनःस्थापित गर्दै व्यवसायिकताका साथ एनआरएनए मूल्यमान्यता स्थापित गर्ने मुख्य एजेण्डा रहेको उनले बताएका छन् । चुनावी प्रचारप्रसार क्रममा उनले युवा, महिला र कम प्रतिनिधित्व भएका आवाजलाई सक्रिय रुपमा सहभागिता बढाउने लक्ष्य राखेका छन् ।
एनआरएनए अभियानमा सबैलाई समेट्दै लैजाने र विश्वभरिका नेपालीलाई एक बनाउने योजना उनको छ ।
च्ुनावी प्रचारप्रसारका क्रममा उनले एनआरएनए अष्ट्रेलियाले विश्वव्यापी प्रभाव निर्माण गर्ने, नेपाल सरकारसँग व्यावहारिक, स्केलेबल डायस्पोरा–मैत्री नीतिहरूको वकालत गर्ने जनाएका छन् । साथै पारदर्शिता र नवीनता मार्फत एनआरएनए अष्ट्रेलियालाई मोडेलको रूपमा स्थापित गर्ने प्रतिबद्धता ढकालले गरेका छन् ।



