काठमाडौँ । तीन वर्षअघिको बाढीले कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला मुगु, सोरु गाउँपालिका– ८, तारापानीकी स्थानीय चन्दा योगीको पाँच कठ्ठा जग्गा बगाइदियो । अहिले पनि आकाशमा कालो बादल मडारिँदा मुटु हल्लिन्छ । पुरानो घटना सम्झिन्छिन् । यस वर्षको मनसुन सुरु भइसक्यो । पानी पर्न थाल्यो । समस्या ज्यूँका त्यूँ छ ।
राति पानी पर्यो भने आफूलाई लाग्ने डर त छँदै छ बच्चाहरुले ‘घर छोडेर जाम आमा’ भन्दा चन्दाको मुटु भक्कानिन्छ । घर छोडेर जाने सुरक्षित स्थान कतै छैन । पहाडको खोचबाट आएको बाढीले फराकिलो बनाएको रुम खोलो बस्ती नजिकै भएर बगेको छ । बस्तीको तलपट्टि मुगु कर्णाली गड्गडाएर झनै डरलाग्दो छ । तारापानीसँगै जोडिएको सीप गाउँको विजय आधारभूत विद्यालयको भवन जीर्ण छ । नजिकै अस्थायी प्रहरी पोष्ट छ । पोस्ष्टको दुईतर्फ खोला छन् । अस्थायी प्रहरी पोष्ट पनि कतिखेर कटानमा पर्ने हो थाहा छैन । अगाडि मुगु कर्णाली सुसाइरहेको छ ।
पहिरोले खेतबारी बगाएपछि स्थानीय गैह्रसरकारी संस्थाले गरेको सहयोगले प्रभावितको जीविकोपार्जनलाई सहयोग पुगेको छ । संस्थाले बाढी पहिरोले उबडखाबड भएको जमिन सम्याउन कृषि औजार दियो, विपदमा उद्धारका सामग्री थियो । विपदमा ज्यान जोगाउन सिकायो । सिँचाइको व्यवस्था गर्यो । अहिले तरकारी खेती गर्न सहज भएको छ । जीविकोपार्जन त सजिलो भयो तर जोखिम उस्तै छ ।
तटबन्ध बनाउन पाए ढुक्कसँग निदाउन सकिने थियो भन्ने लागेको छ चन्दालाई । उनी भन्छिन्, ‘‘तीन वर्षअघि आएको बाढीले पाँच कठ्ठा जग्गासहित घर पनि बगाईदियो । जिएसएस संस्थाले कृषि औजार पनि दियो । कुलो बनाइदिएको छ । अहिले धान, गहुँ रोप्छौँ । तरकारी खेती पनि गर्छौं ।’’
हरेक वर्षको मनसुनमा खोलाले धार परिवर्तन गरी बस्तीतर्फ सोझिएको छ । बसाई सर्ने विकल्प छैन । तटबन्ध छैन । राती पानी पर्यो भने तारापानी बासी निदाउन सक्दैनन् । तटवन्ध गर्न स्थानीयवासीले संघ, प्रदेश, पालिका, वडा सबैसँग हारगुहार गरे । तर कसैले सुनेनन् । स्थानीय विजय रावल विपद्को तालिमसहित उद्धारका सामग्री पनि दिएको स्थानीय गैह्रसरकारी संस्थाले तटवन्ध पनि गरिदिए हुन्थ्यो भन्छन् ।
रावलले भने, ‘‘हिजो त्यत्रो पानी पर्यो । खोला नजिकको बस्ती भएकाले पानी पर्ने वित्तिकै हामी जोखिममा पर्छो । त्यसैले तटबन्द गरिदिए हुन्थ्यो जस्तो लाग्छ । गाउँपालिकासँग माग गरियो । वडामा माग गरियो । संघ प्रदेशलाई भन्दा पनि सुन्दै सुनिदिँदैनन् ।’’
यो संस्थाको सहयोग जारी रहे हामीलाई अलिकति राहत मिल्थ्यो कि ? संस्थाबाट नै केही काम हुन्थ्यो कि भन्ने हामीलाई आश लागिरहेको छ । जिएसएस संस्थाको सहयोगबाट बाटो मर्मत गरियो । अहिले सिँचाइको पनि व्यवस्था गरिएको छ ।
विक्रम सम्वत २०७९ भन्दा अघि तारापानी गाउँ हराभरा थियो । २०७९ असोज १८ गतेको बाढीले गाउँको हरियाली मात्रै नष्ट गरेन स्थानीयको सम्पत्तिमा ठूलो क्षति गर्यो । ६० घरधुरी रहेको तारापानीका ७ घर बाढीले पूर्णरुपमा ध्वस्त बनायो । बाढी प्रभावित तारागाउँ बासीले अहिलेसम्म राहतको नाममा सरकारबाट केही पाएका छैनन् । पीडितको तथ्याङ्क मिलेन भनेर स्थानीय सरकारले तीन वर्ष भइसक्दा पनि राहत वितरण प्रक्रिया अघि बढाएको छैन । स्थानीय जिएसएस संस्थाले तारापानी विपद् समूह गठन गरी विपद् प्रतिकार्यमा स्थानीयलाई जुटायो ।
खोलाको पानी डाईभर्सन गरेर सिँचाइ, पहिरो नियन्त्रणका लागि वृक्षारोपण, विपद् प्रतिरक्षाको तालिम, विपद् उद्धारका सामग्री लगायतमा स्थानीय गैह्रसरकारी संस्थाको सहयोग पाएपछि अहिले तारापानीबासी आफैँ विपद् व्यवस्थापनमा जुटेका हुन् । स्थानीय मानबहादुर बुढा सरकारले भन्दा संस्थाले ठूलो सहयोग गरेको बताउँछन् ।
स्थानीयतहमा काम गर्दै आएको जिएसएस संस्थाले दिएको विपद् उद्धार सामग्रीलाई अस्थायी प्रहरी पोष्टको कार्यालयमा राखिएको छ । अस्थायी प्रहरी पोष्ट तारापानीका प्रहरी हवलदार चन्द्रबहादुर जिसी भन्छन्, ‘‘विपद्को समयमा समन्वय गर्न सजिलो होस् भनेर समूहले उद्धारका सामानहरु जिम्मा लगाउनुभएको छ त्रिपाल, लाईफ ज्याकेट, डोरी, बुट, रेनकोट लगायत विपद् उदारका सामानहरु संस्थाले हामीलाई जिम्मा लगाउनुभएको छ । यहाँ बाढीको जोखिम छ । विपद्को समयमा छिटो छरितो होस् भन्नका लागि हामीले तयारी अवस्थामा राखेका छौ । पानी पर्यो भने माथिबाट ढुङ्गा झर्ने, अनि अगाडि नै खोला भएकाले बाढीको पनि जोखिम छ ।’’
सोरु गाउँपालिकाका अध्यक्ष धरमबहादुर शाही दुर्गम कर्णाली प्रदेशका हिमाली जिल्लाका गाउँपालिकाहरुमा पर्याप्त बजेट अभावका कारण जन चाहनाअनुसार विकास गर्न नसकिएको बताउछन् । उनले दुर्गम क्षेत्रको विकास निर्माणको काममा गैह्रसरकारी संस्था र निजी क्षेत्रलाई आकर्षित गर्न केन्द्र सरकारले राम्रो सहजिकरण गर्नुपर्ने बताउछन् । विपद् तथा आकस्मिक घटनाहरुमा स्थानीय महिलाहरु सजग हुन थालेका छन् । जसले जनधनको क्षति कम गर्न मद्दत पुगेको छ ।



