सिड्नी — अष्ट्रेलियामा क्रियाशील गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२५–२७) का लागि हुने निर्वाचनमा न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यतर्फबाट अवानी पौडेलले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) सदस्य पदमा उम्मेदवारी दिएकी छन्।
सन् २०१९ मा अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा अष्ट्रेलिया आएकी पौडेलले छोटो समयमा नै नेपाली समुदायमा नेतृत्व क्षमता, सक्रिय सहभागिता र सामाजिक उत्तरदायित्वका माध्यमबाट विशिष्ट पहिचान बनाएकी छन्। टिम एकता अन्तर्गतको उम्मेदवारको रूपमा मैदानमा उत्रिएकी उनले युवा पुस्ताको आवाज बन्ने अठोटसहित समावेशी र नतिजामूलक नेतृत्व दिने बताएकी छन्।

“समाजले मलाई धेरै सिकायो, अब सिकेको फिर्ता दिने बेला आएको छ,” पौडेलले भनिन्, “म महिला, युवा र नयाँ आप्रवासीहरूको आवाज बन्न चाहन्छु।”
शिक्षा परामर्श, वृद्ध सेवा, व्यवसाय र हाल रियल इस्टेट क्षेत्रमा क्रियाशील पौडेललाई समुदायले कार्यमा केन्द्रित, ऊर्जाशील र समर्पित नेतृका रूपमा लिएको छ। बलिउड अभिनेत्रीझैं आकर्षक देखावटसँगै उनी दृढ सोच र योजनाबद्ध कार्यशैलीमा पनि अब्बल मानिन्छिन्।
“अहिलेको आवश्यकता भनेको नेतृत्वको पुस्तान्तरण हो,” उनले थप भनिन्, “जहाँ अनुभव, जोश र सोचको सन्तुलनबाट मात्रै संस्थागत सुधार सम्भव छ।”
उनले आफू आबद्ध टिम एकता लाई पारदर्शिता, समावेशी नेतृत्व र महिला सहभागिताको अभ्यास गर्ने समूहका रूपमा चित्रण गरेकी छन्।
“टिम एकता नाम मात्रै होइन, व्यवहारमा एकताको अभ्यास गर्ने समूह हो,” पौडेलको दाबी छ।
यसपटकको निर्वाचनमा एनएसडब्लु राज्यमा युवा पुस्ताको सक्रिय सहभागिता उल्लेखनीय देखिएको छ। उम्मेदवारहरूले आ–आफ्ना एजेन्डा सार्वजनिक गर्दै कोठे बैठक, समुदाय भेटघाट र घरदैलो अभियान तीव्र पारिसकेका छन्।



