अष्ट्रेलियामा नेपालले ग्लोबल सोर्सिङ एक्स्पो सिड्नी २०२५ मा आफ्नो मौलिक हस्तकला, कपडा र सजावट सामग्रीको भव्य प्रदर्शन गरेको छ। जुन १७ देखि १९ तारिखसम्म सिड्नीको ICC थिएटर, डार्लिङ हार्बरमा सम्पन्न भएको यस तीनदिने प्रदर्शनीमा नेपालबाट विभिन्न हस्तकला उत्पादक तथा व्यवसायीहरूले सहभागिता जनाएका थिए।
मेलामा अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव, न्यू साउथ वेल्स राज्यका लागि नेपाली मानार्थ वाणिज्यदूत संजीव शर्मा, र नेपाल सरकार उद्योग विभागका महानिर्देशक श्री राजेश्वर ज्ञवालीले नेपाली स्टलहरूको अवलोकन गरेका छन् ।
राजदूत यादवले नेपाली हस्तकलाले अष्ट्रेलियाली बजारमा राम्रो सम्भावना राखेको बताउँदै भनिन्, “हाम्रो संस्कृति र सिर्जनशीलता संसारमा चिनाउने यो एक राम्रो माध्यम हो। यस्तो अवसरलाई व्यावसायिक रूपान्तरणमा बदल्न हामी सबै जुट्नुपर्छ।”

अवलोकनमा सहभागीहरूले नेपाली हस्तकलाको अष्ट्रेलियाली बजारमा राम्रो सम्भावना रहेको र यस्ता प्रदर्शनीहरूले ‘ब्रान्ड नेपाल’ लाई विश्वमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । गार्मेन्ट संघ नेपालका अध्यक्ष पशुपति देव पाण्डेले पनि यस्तो एक्स्पोले नेपाली गार्मेन्ट उद्योगको विश्व बजारमा पहुँच विस्तार गर्न ठूलो योगदान पुर्याउने बताए ।
प्रदर्शनीमा नेपालका स्टलहरूमा हातले बनेका धागोका कपडा, ढाका, पश्मिना र सजावटका सामग्रीहरू प्रमुख आकर्षण बनेका थिए। अष्ट्रेलियाली उपभोक्ता र थोक खरिदकर्ताहरूले नेपाली सामग्रीहरूमा विशेष चासो देखाएका थिए।
यो अन्तर्राष्ट्रिय व्यापार मेला विश्वभरका आयातकर्ता, थोक विक्रेता र व्यवसायीहरूका लागि ठूलो व्यापारिक मञ्चको रूपमा परिचित छ। नेपाली हस्तकलालाई अष्ट्रेलियाली बजारमा स्थापित गराउन यस्ता कार्यक्रममा निरन्तरता दिनु आवश्यक छ।



