Thursday, April 30, 2026
Zenith Migration Education
Thursday, April 30, 2026

नेपाली समुदायसँग अष्ट्रेलियाली शिक्षामन्त्रीको साक्षात्कार

Zenith Migration Education

सिड्नी — अष्ट्रेलियाका संघीय शिक्षामन्त्री जेसन क्लेयरले नेपाली समुदायको सहकार्यले अष्ट्रेलियाको समावेशी स्वरूप झनै मजबुत भएको बताएका छन् ।

बुधबार साँझ सिड्नीको ओबर्नस्थित सम्बन्ध रेस्टुरेन्टमा आयोजित ‘मिट एन्ड ग्रीट’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जेसन क्लेयरले उक्त कुरा बताएका हुन् । “नेपाली समुदायको मेहनत, एकता र सक्रियताले हाम्रो समाज अझ बलियो बनेको छ,” मन्त्री क्लेयरले भने, “यहाँको सहकार्यले अष्ट्रेलियाको समावेशी स्वरूप झनै मजबुत भएको छ।”

मन्त्री क्लेयरले नेपाली समुदायले आफुलाई गरेकाे स्वागतप्रति आभार व्यक्त गर्दै अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायले पुर्याएको योगदानको प्रशंसासमेत गरे।

बर्वुड काउन्सिलकी काउन्सिलर सुकिर्ति भट्टले यस्तो संवाद कार्यक्रमले सरकार र समुदायबीचको दूरी घटाउने विश्वास व्यक्त गरिन्। “यो संवादको सेतु हो,” उनले भनिन्, “नेपाली समुदायको आवाज अब नीति निर्माण तहसम्म पुग्ने आशा गरिएको छ।”

बर्वुड काउन्सिलकी काउन्सिलर सुकिर्ति भट्टको संयोजनमा सम्पन्न भएको उक्त कार्यक्रममा अष्ट्रेलियास्थित नेपाली समुदायका अगुवा, संस्थाका प्रतिनिधि, समाजसेवी र युवा नेतृत्वको उल्लेखनीय उपस्थिति थियो।

सहभागीहरूमा एनआरएनए अष्ट्रेलियाका संस्थापक मन केसी, एनएसडब्लु राज्यका नेपाली वाणिज्यदूत संजीव शर्मा, एनआरएनएका क्षेत्रीय संयोजक दिनेश पोखरेल, ग्रेटर सिड्नी नेपाली बहुसांस्कृतिक केन्द्र का अध्यक्ष विष्णु हमाल, ओबर्न नेपाली कम्युनिटीका अध्यक्ष अरुण श्रेष्ठ, पूर्व अध्यक्ष जितेन्द्र श्रेष्ठ, उपाध्यक्ष हेमन लामीछाने, महिला र युवा प्रतिनिधिहरू सहभागी थिए।

कार्यक्रममा मन्त्री क्लेयर र रिड क्षेत्रकी सांसद सैली सितोलाई आयोजकको तर्फबाट सम्बन्ध रेस्टुरेन्टकी सञ्चालिका मीरा गुरुङ र व्यवसायी जितेन्द्र श्रेष्ठले मायाको चिनो प्रदान गरे ।

श्रेष्ठले नेपाली समुदायको तर्फबाट अष्ट्रेलियाली नेतृत्वप्रति आभार व्यक्त गर्दै भने, “यस्ता कार्यक्रमले आपसी सम्बन्ध अझ सुदृढ र विश्वासपात्र बनाउँछन्।”

कार्यक्रममा रिड क्षेत्रकी अर्की सांसद सैली सितोले पनि सम्बोधन गरिन्। उनले नेपाली समुदायको स्वागतभाव र आत्मीयताको प्रशंसा गर्दै भनिन्, “तपाईंहरूको न्यानो सम्बन्ध सधैं प्रेरणादायी रहन्छ।”

कार्यक्रम सांस्कृतिक वातावरणमा सम्पन्न भएको थियो। सहभागीहरूलाई नेपाली परिकारसहित आतिथ्य सत्कार गरिएको थियो।

नेपाली समुदायसँगको सम्बन्धलाई मन्त्री क्लेयरले विशेष प्राथमिकता दिँदै आएको सहभागीहरूको धारणा थियो। क्लेयर अष्ट्रेलियाका सर्वाधिक लोकप्रिय नेताहरूमा गनिन्छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु