Friday, May 1, 2026
Zenith Migration Education
Friday, May 1, 2026

आमाको मुख हेर्ने दिन: छोरी बिमला जीवित न फर्किदा आमाको बलिन्द्र आसुको धारा

Zenith Migration Education

सिड्नी—आज आमाको मुख हेर्ने दिन संसारभरिका आमा आफ्ना सन्तानसँग हाँसीखुसी बिताइरहँदा, नवलपरासी गैडाकोटकी आमा चित्रा थापा भने छोरीको असामयिक निधनको असह्य पीडामा डुबेकी छन्।

उनकी एकमात्र सन्तान बिमला थापा तीन वर्षअघि अध्ययनका लागि अष्ट्रेलिया आएकी थिइन्। केम्सी, सिड्नीमा बसेर अध्ययन पूरा गरेपछि भर्खरै TR (Temporary Resident) भिसामा बस्न थालेकी बिमलाले आमा चित्रालाई सिड्नी ल्याउने सपना देखेकी थिइन्। तर अप्रिल १३ मा आएको दुखद खबरले परिवारको सबै सपना अधुरो बनायो।

केम्सी प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। बिमलाको पार्थिव शरीर अझै नेपाल पठाइएको छैन र अन्तिम तयारी भइरहेको छ।

बिमलाले एक वर्षको हुँदा नै बुवालाई सवारी दुर्घटनामा गुमाएकी थिइन्। त्यसपछि मामा र ठूली आमाको संरक्षणमा हुर्किएकी बिमला परिवारको उज्यालो भविष्यका लागि अष्ट्रेलिया पुगेकी थिइन्। उनको अकाल मृत्युले सिङ्गो नेपाली समुदाय स्तब्ध भएको छ।

घटनापछि विभिन्न संघ–संस्थाहरू र व्यक्तिहरू सहयोगमा जुटेका छन्।

युवा अभियन्ता दिवस कार्कीको पहलमा गोफण्डमीमार्फत २९ हजार ५०० अष्ट्रेलियन डलर संकलन गरिएको छ। संकलित रकमबाट पार्थिव शरीर नेपाल पठाउने खर्च कटाएर बाँकी रकम आमा चित्रालाई सहयोगस्वरूप प्रदान गरिनेछ।

यसै क्रममा नेपाल ट्युवका प्रधान सम्पादक सरल गुरूङले घटनाबारे समाचार प्रकाशन गरी आर्थिक तथा अन्य सहयोगका लागि आव्हान गरेकाहुन।

वचन न्यूजका प्रधान सम्पादक जीवन रायमाझीले पनि सदाझैं समर्पित भई बिमलाको पार्थिव शरीर नेपाल पठाउन र आमालाई मलम लगाउने कार्यमा निरन्तर सक्रिय सहयोग गरिरहेका छन्।

एनआरएनए अष्ट्रेलियामगर समाज अष्ट्रेलिया लगायतका संघ–संस्थाहरूले बिमलाको निधनप्रति गहिरो समवेदना व्यक्त गर्दै आवश्यक सबै प्रकारको सहयोग गरिने प्रतिबद्धता जनाएका छन्।

एनआरएनए अष्ट्रेलिया अध्यक्ष अनिल पोखरेलले “बिमलाको परिवारलाई कठिन परिस्थितिमा साथ दिने र आवश्यक सहयोग जुटाउने काममा हामी संलग्न रहनेछौं” भन्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।

आफ्नो जीवनभर संघर्ष गर्दै आएकी आमा चित्रा थापाले अहिले न्याय र सहयोगका लागि सिङ्गो अष्ट्रेलियाली नेपाली समुदायलाई भावुक अपिल गरेकी छन्।

“मेरो छोरीको वास्तविक मृत्युको कारण पत्ता लागोस् र मलाई यो पीडाको घडीमा साथ दिनुहोस्,” भन्दै उनले सहयोग मागेकी छन्।

आज, जब संसारभरिका आमाहरू आफ्ना सन्तानसँग मुख हेर्ने दिन मनाइरहदा।चित्रा थापाले भने छोरीको चिसो शव कुर्नुपरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु