Friday, May 1, 2026
Zenith Migration Education
Friday, May 1, 2026

तीनकुने घटनामा पत्रकारमाथिको आक्रमण स्वीकार्य छैन : अध्यक्ष शर्मा

Zenith Migration Education

सिड्नी — नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले कुनै पनि वाद वा व्यवस्थाको नाममा सञ्चारमाध्यम र पत्रकारमाथि गरिने आक्रमणलाई स्वीकार गर्न नसकिने बताएकी छन्।

अष्ट्रेलियन नेप्लिज जर्नालिस्ट एशोसिएशन (एन्जा)को आयोजनामा शुक्रबार सिड्नीमा आयोजित ‘स्वागत तथा सम्मान’ कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले लोकतान्त्रिक प्रणालीमै मात्र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी सम्भव हुने जिकिर गरिन्।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजसंस्थाको पुनःस्थापनाको मागसहित गरिएको प्रदर्शनका क्रममा आफ्नो कर्तव्य निर्वाह गरिरहेका एक श्रमजीवी पत्रकारलाई जिउँदै जलाएर हत्या गरिएको तथा अन्य सञ्चारगृहमा योजनाबद्ध रूपमा तोडफोड गरिएको घटनालाई स्मरण गर्दै उनले प्रेस स्वतन्त्रतामाथि भएको आक्रमणको घोर भर्त्सना गरिन्।

‘तीनकुने घटनामा जसरी पत्रकार, सञ्चारकर्मी र सञ्चारमाध्यमलाई लक्षित गरियो, त्यो लोकतान्त्रिक मुल्य–मान्यता विपरीत छ,’ अध्यक्ष शर्माले भनिन्, ‘महासंघले सुरु देखिनै यसको विरोध गर्दै आन्दोलनमा उत्रिएको छ, यो संघर्ष अझै जारी छ।’

प्रवासमा रहेका पत्रकारहरू कठिन परिस्थितिमा पनि समाजलाई सुसूचित राख्न प्रयत्नशील रहेको भन्दै उनले समाज र राष्ट्रले यस्ता पत्रकारहरूको योगदानको उचित कदर गर्नुपर्नेमा जोड दिइन्।

महासंघ र एन्जाबीच विगतदेखि नै सहकार्य रहँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि दुई पक्षीय सहकार्यलाई थप मजबुत बनाउँदै लैजानुपर्ने धारणा राखिन्।

एन्जाका अध्यक्ष कृष्ण तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघ अध्यक्ष शर्मासहित गोरखापत्र संस्थानका निमित्त प्रधानसम्पादक शिव भट्टराई, बोर्ड अफ डाइरेक्टर सचिन पोखरेल, देशान्तर पब्लिकेशनका अध्यक्ष केबी राणा, एभिन्यूज टेलिभिजनका कानुनी सल्लाहकार गणेश केसी, एन्जाका संस्थापक अध्यक्ष हेमन्त काफ्ले, सल्लाहकारहरू डिल्ली आचार्य, डा. राजु मानन्धर, कानुनी सल्लाहकार सम्शेरसिंह थापा लगायतले प्रवासी पत्रकारिताको योगदान, चुनौती र उजागर गर्नुपर्ने विषयमा धारणा राखेका थिए।

कार्यक्रममा महासंघका अध्यक्ष शर्मासहित नेपालबाट आएका अग्रज पत्रकारहरूलाई सम्मानसहित प्रशंसा पत्र प्रदान गरिएको थियो। कार्यक्रमको स्वागत एन्जाका महासचिव गणेश भट्टले तथा सञ्चालन सचिव तक्दीर अधिकारीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु