Friday, May 1, 2026
Zenith Migration Education
Friday, May 1, 2026

आनन्द कार्कीको आगमनले सिड्नी बन्यो साङ्गीतिक

Zenith Migration Education

सिड्नी — नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक आनन्द कार्कीले अष्ट्रेलियाको सिड्नीमा आयोजित एक सांगीतिक साँझमा दर्शकहरूलाई झुमाउँदै साँझलाई अविस्मरणीय बनाएका छन्। पाल्पा इन्टरटेनमेन्ट र RFM को संयुक्त आयोजनामा म्यारिल्याण्डस्थित बार्डली फङ्सन सेन्टरमा बिहीबार साँझ सम्पन्न उक्त कार्यक्रममा कार्कीले आफ्ना सदाबहार हिट गीतहरू प्रस्तुत गरेका थिए।

‘बादल वर्षा बिजुली’, ‘जनम जनम जिउँला संगै’ जस्ता लोकप्रिय गीतहरूसँगै उनले गायिका प्रीति घिमिरेसँग मिलेर ‘दुस्मन हेरे हरे, छ भने माया हाय भन नभए बाइ भन’ लगायतका लोकशैलीका युगल गीतहरू पनि गाए, जसले दर्शकहरूलाई अझ बढी उत्साहित बनायो।

कार्यक्रम सुरु हुनुअघि गायक आनन्द कार्कीले अष्ट्रेलियामा रहेका सम्पूर्ण नेपालीहरू, आयोजक संस्था, र उपस्थित दर्शकप्रति स्वागत र धन्यवाद व्यक्त गरेका थिए। उनले यस्तो मायापूर्ण साथ र उत्साहले आफूलाई अभिभूत बनाएको भन्दै भविष्यमा पुनः आउने प्रतिबद्धता पनि जनाए।

कार्की र घिमिरेको ऊर्जावान प्रस्तुति देखेर दर्शकहरू स्टेजनजिकै आएर नाचे। कलाकारहरू स्वयं पनि स्टेजमै नाच्दै गाइरहेका थिए, जसले माहोललाई झनै रमाइलो बनायो।

निर्देशक सोभित बस्नेतको पहलमा आयोजना गरिएको कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा समाजसेवी तथा व्यवसायी रञ्जित शाह दम्पती, चलचित्र ‘पीआर’ की नायिकाहरू बिमला खत्री र विनिता कार्की, कलाकार कुशल थापा, पाल्पा इन्टरटेनमेन्टका सञ्चालक सुभास श्रेष्ठ र विकास तामाङ, समाजसेवी हिकुपति गुरुङ र कृष्ण थापा सहभागी थिए।

त्यसैगरी, भावना नामकी युवतीको डान्स प्रस्तुति पनि कार्यक्रममा विशेष आकर्षण बन्यो।

तीन कोर्सको गाला डिनरसहित सम्पन्न कार्यक्रमलाई सहभागीहरूले ‘स्मरणीय साँझ’ भन्दै प्रशंसा गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु