सिड्नी– सिड्नीको मोर्टडेल भिलेज हलमा आइतबार सम्पन्न वारियर्स तेक्वान्दो इन्टरक्लब प्रतियोगिता २०२४ ले नेपाली समुदायका साथै अन्य अन्तर्राष्ट्रिय खेलाडीहरूको उत्कृष्ट प्रदर्शनलाई उजागर गर्यो। प्रतियोगितामा ५ वर्षदेखि माथिका ९० खेलाडीहरूले उत्साहजनक सहभागिता जनाएका थिए।

प्रमुख अतिथि माननीय मार्क कोर (सांसद, ओट्ली) र विशिष्ट अतिथि ग्रान्डमास्टर डा. बिलाल जे एलमोवी को उपस्थितिले प्रतियोगितालाई विशेष महत्त्व दिएको थियो। प्रतियोगिता प्रकाश क्षेत्री, वारियर्स तेक्वान्दो मार्सल आर्ट्स एण्ड फिटनेसका संस्थापक तथा निर्देशकको नेतृत्वमा आयोजित गरिएको हो। क्लबले आफ्नो स्थापना (सन् २०१८) यता हरेक वर्ष यस्ता प्रतियोगिताहरूलाई प्राथमिकता दिँदै आएको छ।
प्रतियोगितामा म्याक्वारी फिल्ड्स, अस्ट्रेल, मोर्टडेल, प्याडस्टो, क्वाकर्स हिल, र लेकेम्बा क्लबका खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए।
• सर्वश्रेष्ठ खेलाडीहरू:
• काइरा (अस्ट्रेल)
• ब्रिस्टि (म्याक्वारी फिल्ड्स)
• सर्वश्रेष्ठ पुम्से: क्रिस्टिना क्षेत्री (मोर्टडेल)
• सर्वश्रेष्ठ प्रशिक्षक: रितिका गुरागाईं (म्याक्वारी फिल्ड्स)
कार्यक्रममा सहभागी अन्तर्राष्ट्रिय खेलाडीहरूले महत्त्वपूर्ण उपलब्धि हासिल गरे:
- बिशाल तामाङ: क्योरुगी (गोल्ड मेडल)
- सञ्जिला तिमिल्सिना: पुम्से (गोल्ड मेडल)
- रितिका गुरागाईं: पुम्से (सिल्भर मेडल)

प्रतियोगितामा प्रवीण थापा (नेक्स्ट जेन अस्ट्रेलिया) को समर्थनले नयाँ खेलाडीहरूलाई प्रशिक्षित र प्रेरित गर्न मद्दत पुगेको आयोजकले जनाएका छन्।
ग्रान्डमास्टर डा. बिलाल जे एलमोवी ले अन्त्यमा सहभागी खेलाडी, प्रशिक्षक र अभिभावकहरूलाई धन्यवाद ज्ञापन गर्दै यस्ता प्रतियोगिताले तेक्वान्दो जस्तो खेलकुदको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए।
आयोजक प्रकाश क्षेत्रीले भने, “हाम्रो उद्देश्य खेलकुदका माध्यमबाट अनुशासन, आत्मविश्वास र नेतृत्व विकास गर्नु हो। सहभागिताले देखाएको जोशले आगामी दिनमा अझ प्रभावकारी प्रतियोगिताहरू आयोजना गर्ने प्रेरणा दिएको छ।”
सिड्नीको नेपाली समुदायबीच यस्ता प्रतियोगिताले खेलकुदप्रतिको रुचि र नयाँ पुस्तालाई तेक्वान्दो जस्ता खेलकुदमा संलग्न गराउन थप योगदान गर्ने विश्वास गरिएको छ।




























