सिडनी – आज ख्रीष्टमसका अवसरमा धेरै देशका ठूला-ठूला शहरहरू, मानव निर्मित व्यावसायिक मलहरू, र निजी घरहरूलाई सजाइएको देख्न पाइन्छ। यो सबैको एउटै कारण हो, ख्रीष्टमस पर्व। तर ख्रीष्टमस केवल येशू ख्रीष्टको जन्मको सम्झना मात्रै होइन। ख्रीष्टमस विशेष बन्नका लागि हामीले बुझ्नुपर्छ कि येशू ख्रीष्ट किन संसारमा आउनुभयो? यस प्रश्नको उत्तरले मात्र ख्रीष्टमसको सन्देश पूर्ण बन्छ।
येशू ख्रीष्टको जन्मभन्दा करिब ७०० वर्षअघि नै भविष्यवक्ता यशैयाले उहाँको आगमनको भविष्यवाणी गर्नुभएको थियो (यशैया ७:१४)। यसले स्पष्ट पार्छ कि येशू ख्रीष्टको जन्म संसारका लागि कति महत्वपूर्ण थियो। पवित्र धर्मशास्त्र बाइबलको १ यहन्ना ४:९ मा लेखिएको छ, “परमेश्वरको प्रेम हाम्रो माझमा यसरी प्रकट भयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई संसारमा पठाउनुभयो, ताकि उहाँद्वारा हामी जीवित हुन सकौं।”
प्रेमको परिभाषा
ग्यारी च्यापम्यानले लेखेको “The Five Love Languages” पुस्तकअनुसार प्रेमका पाँच रूपमध्ये एउटा हो “उपहार”। परमेश्वरले आफ्नो अद्वितीय प्रेमको चिन्हस्वरूप संसारलाई आफ्ना एकमात्र पुत्र येशू ख्रीष्ट दिनुभएको हो। प्रेम भनेको शब्दले मात्र सीमित हुने कुरा होइन, यो व्यवहार र कार्यद्वारा देखाउनुपर्ने कुरा हो।
यदि संसारलाई धन सम्पत्ति चाहिएको भए, परमेश्वरले एक महान अर्थशास्त्री पठाउन सक्थे। यदि राजनीतिक सुधार आवश्यक भए, तिनले कुशल राजनीतिज्ञ पठाउनुहुन्थ्यो। तर संसारलाई सबैभन्दा ठूलो खाँचो मोक्षको थियो। मानिसको पापलाई उठाउन र मोक्ष दिन, परमेश्वरले मुक्तिदातालाई पठाउनुभयो, जो येशू ख्रीष्ट हुनुहुन्छ।
ख्रीष्टमसको अर्थ
हामीले ख्रीष्टमसलाई केवल प्लास्टिकको रुखमा राखिएको उपहारसँग मात्र जोडेर यसको महत्व सिमित गरिरहेका त छैनौं? ख्रीष्टमस उपहार आदान-प्रदानको विषय होइन, यो त पापका लागि क्रूसमा चढिनुभएका येशू ख्रीष्टको सम्झना हो।
पवित्र धर्मशास्त्रले ख्रीष्टमसको सन्देशमा निम्न महत्वपूर्ण पात्रहरू उल्लेख गरेको छ:
कन्या मरियम
परमेश्वरले मानिसको पाप पखाल्न पवित्र र निष्कलंक माध्यमको आवश्यकता ठहराउनुभयो। यसै कारण पवित्र आत्माद्वारा मरियमको कोखमा येशूको जन्म भयो।
गोठालाहरू
त्यो समयमा गोठालाहरू समाजको सबैभन्दा तल्लो स्तरमा थिए। उनीहरू रोगी र खोट भएका पशुहरूको स्याहार गर्थे। तर परमेश्वरले गोठालाहरूलाई नै पहिलो दर्शन दिनुभयो। उहाँको जन्मको सन्देश दिन उनीहरूजस्तै सादा र सत्यनिष्ठ व्यक्तिहरू उपयुक्त थिए।
ज्योतिषीहरू
येशूको जन्मको समयमा ज्योतिषीहरूले आकाशमा देखिएको विशेष तारालाई चिने। परमेश्वरले ती ज्योतिषीहरूलाई मार्गदर्शन गर्नुभयो, जसले ७०० वर्ष पुरानो भविष्यवाणीलाई सम्झिए।
पर्वको तारा
ख्रीष्टमसको ताराले आशाको ज्योति देखाउँछ। त्यो विशेष तारा उद्धारकर्ता ख्रीष्टको आगमनको संकेत थियो।
गाईको गोठ
येशूको जन्म गाईको गोठमा भयो, जुन फोहोर र अँध्यारो थियो। तर येशूले संसारलाई सन्देश दिनुभयो कि पापले ग्रसित मानव हृदयलाई सफा र ज्योतिको रुपमा परिवर्तन गर्न उहाँ आएका हुन्।
आज, तपाईँको हृदयलाई येशू जन्मन दिन तयार गर्नुहोस्। उहाँलाई आफ्नो जीवनमा निम्त्याउनुहोस्।
लेखक: प्रविन कु. तामाङ
ख्रीष्टमसको धेरै-धेरै शुभकामना!



