सिडनी, अष्ट्रेलिया – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेमाथि राजनीतिक प्रतिशोधका आधारमा गरिएको गिरफ्तारी र हिरासतमा गरिएको अमानवीय व्यवहारप्रति प्रवास नेपाली सम्पर्क विभाग-अष्ट्रेलियाले कडा आपत्ति जनाएको छ।
विभागले लामिछानेमाथिको घटनालाई मानवअधिकार उल्लङ्घनको गम्भीर उदाहरणको रूपमा लिएको छ। उनलाई चितवनमा बयान गराएपछि मध्यरातमा पोखरा लगिएको, हिरासतमा यातना दिइएको, र निजी डायरी हराएको घटनाले संविधानको धारा १८ र २२ तथा मुलुकी अपराध संहिता २०७४ को दफा १६७ र अन्तर्राष्ट्रिय मानवअधिकार महासन्धिहरूको उल्लङ्घन गरेको विभागले जनाएको छ।
विभागका प्रमुख डा. कृष्ण कान्त पौडेलद्वारा जारी विज्ञप्तिमा लामिछानेले कानुनी प्रक्रियामा पूर्ण सहयोग गर्दै नागरिक कर्तव्य निर्वाह गरिरहेका बेला सरकारले उनको छविलाई बिगार्ने नियतले अपराधीझैं व्यवहार गरेको भनिएको छ। यस घटनाले कानुनी शासन, लोकतान्त्रिक मूल्य र मानवअधिकारप्रतिको सरकारको बेवास्ता उजागर गरेको विभागको ठहर छ।
सरकारले राज्य संयन्त्रको दुरुपयोग गर्दै एक प्रतिस्पर्धी राजनीतिक दलका नेताविरुद्ध षड्यन्त्र गरेको आरोप लगाउँदै विभागले निष्पक्ष छानबिन र न्याय सुनिश्चित गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय मानवअधिकार संघ–संस्थाहरूलाई ध्यानाकर्षण गराएको छ।
विभागले लोकतान्त्रिक अधिकारको रक्षाका लागि सबैलाई जागरूक रहन आह्वान गर्दै, कानुनी शासनको सम्मानका लागि आवाज उठाउन अपील गरेको छ।





