Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

निर्धारित समयमा विमानस्थलको स्तरोन्नति नभएमा वायुसेवा कम्पनीहरु बन्द हुन सक्छन्

Zenith Migration Education

काठमाडौं – वायु सेवा सञ्चालक संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति कार्यलाई तोकिएको समयमै सम्पन्न गर्न जोडदार माग गरेको छ। संघले बुधबार एक विज्ञप्ति जारी गर्दै, यदि विमानस्थलको स्तरोन्नति तोकिएको समयभित्र सम्पन्न नभएमा सदस्य वायुसेवा कम्पनीहरू आर्थिक घाटामा पुगेर बन्द हुने स्थिति आउन सक्ने भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले कात्तिक २३ गतेदेखि करिब पाँच महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति कार्य गर्ने योजना बनाएको छ। यस क्रममा, उडान समयलाई घटाएर बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गर्ने सूचना (नोटाम) जारी गरिएको छ।

प्राधिकरणले विमानस्थलको धावनमार्ग तथा समानान्तर ट्याक्सी वेसँग जोड्ने लिंक रोडको निर्माण कार्य तोकिएको समयमा नै सम्पन्न गर्नेछ भन्ने विश्वास लिएको छ। यदि सन् २०२५ को वसन्तसम्म निर्माण कार्य नसकिएमा सदस्य वायुसेवा कम्पनीहरूले अत्याधिक घाटा ब्यहोरेर बन्द गर्नुपर्ने स्थिति आउने खतरा रहेको भन्दै संघले सम्बद्ध निकायलाई तत्परताका साथ कार्य सम्पन्न गर्न आग्रह गरेको छ।

विमानस्थल सञ्चालन समय घटाउँदा सदस्य वायुसेवा कम्पनीका करिब ३० प्रतिशत उडान कटौती हुने भए पनि विमानस्थलको विस्तार र पूर्वाधार निर्माणको विषयमा संघले सकारात्मक दृष्टिकोण राखेको छ। स्तरोन्नति पश्चात्, सदस्य तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि दीर्घकालीन रूपमा विमानस्थल सञ्चालन सरल, सुविधाजनक र सहज हुने संघको विश्वास रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु