Thursday, May 28, 2026
Zenith Migration Education
Thursday, May 28, 2026

सत्ता सहकार्यको लागि कांग्रेस र एमालेको निर्णय प्रतीक्षामा साना दलहरू

Zenith Migration Education

मुलुकका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सहमति अनुसार, एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेपछि नयाँ सरकार गठन औपचारिक रूपमा सुरु भएको छ। प्रधानमन्त्री ओलीले सोमबार नै मन्त्रिमण्डल गठन गर्ने तयारी गरिरहेका छन्।

सरकार गठनका लागि कांग्रेस र एमालेसँग पर्याप्त सांसद भए तापनि, अन्य दललाई पनि साथमा लिएर अगाडि बढ्न दुवै दल इच्छुक छन्। संसद्का अधिकांश साना दलहरूले नयाँ सरकारलाई समर्थन गर्ने निर्णय गरिसकेका छन्। ती दलहरूले शुक्रबार प्रधानमन्त्री दाहालको विश्वासको मतको विपक्षमा मतदान गरेर नयाँ सरकारलाई समर्थन गरिसकेका छन् भने केही दलहरूले सरकारमा सहभागी हुने वा नहुने बारे निर्णय गरेका छैनन्। यी दलहरू पर्ख र हेरको रणनीतिमा रहेको बुझिएको छ।

जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनता समाजवादी पार्टी, र नागरिक उन्मुक्ति पार्टी नयाँ सरकारमा सहभागिता लगायतका विषयमा प्रमुख गठबन्धन दलको औपचारिक धारणाको पर्खाइमा छन्। ती दलहरूले आफूले पाउने मन्त्रालयको भागबण्डा पछि मात्रै मन्त्रीको चयन गर्ने निर्णय गर्ने बताएका छन्।

जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले नयाँ सरकारलाई पार्टीले समर्थन गरिसकेकाले सरकारमा सहभागिताबारे पर्ख र हेरको नीतिमा रहेको बताए। उनले भने, “हाम्रो पार्टीको प्राथमिकता मधेश प्रदेश सरकार हो। सङ्घीय सरकारलाई समर्थन गरेकाले पार्टीले पाउने मन्त्रालयको जिम्मेवारी पछि मात्रै आवश्यक छलफल हुन्छ र मन्त्रीको चयन गरिनेछ।”

लोसपाका प्रमुख सचेतक रामप्रकाश चौधरीले नयाँ सरकारमा सहभागिताबारे सत्ता साझेदार दलसँगको छलफलपछि पार्टीले निर्णय लिने बताए। उनले भने, “पार्टीले सरकारलाई समर्थन गरिसकेको छ। मन्त्री छनोटको जिम्मेवारी पार्टी अध्यक्षलाई दिइएको छ। गठबन्धन दलसँग छलफल गरेर मन्त्रालयको टुङ्गो लागिसकेपछि मन्त्रीको चयन गरिनेछ।” लोसपाका नेता राजकिशोर यादवले नयाँ सरकारमा सहभागी हुनेबारे पार्टीमा छलफल नभएको बताए।

जनता समाजवादी पार्टीका महासचिव मोहम्मद इतियाक राईले पनि सरकारमा सहभागिताबारे अहिले पार्टीभित्र छलफल नभएको बताए। नागरिक उन्मुक्ति पार्टी पनि सत्ता सहकार्यबारे सकारात्मक रहेको छ। मन्त्रालयको भागबण्डा मिलाएपछि मात्रै मन्त्रीको चयनमा पार्टीले छलफल गर्ने जनाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने सरकारमा सहभागिताबारे कांग्रेस र एमालेसँगको छलफलपछि मात्रै आगामी रणनीति तय गर्ने पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए। उनले भने, “अहिले पार्टीले कुनै धारणा बनाएको छैन। सत्ता साझेदार दलहरू कसरी आउनुहुन्छ, सोही अनुसार पार्टीले निर्णय लिनेछ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु