Zenith Migration Education
Thursday, March 27, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

रासस तस्बिर प्रदर्शनी अर्को सातासम्म जारी रहने

Zenith Migration Education

काठमाडौँ: गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको समयावधि एक साता थप भएको छ ।

यही जेठ १० गते सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माबाट उद्घाटन भएको प्रदर्शनीमा विशिष्ट व्यक्ति र जिज्ञासु सर्वसाधारण आउने क्रम जारी रहेकाले आजदेखि सात दिनसम्म प्रदर्शनीको अवधि थपिएको राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले जानकारी दिनुभयो ।

रासस केन्द्रीय कार्यालय, भद्रकालीमा आयोजित प्रदर्शनीको राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षद्वय डा महेन्द्र विष्ट र गोविन्द आचार्यलगायत समाजका प्रतिष्ठित व्यक्तिले अवलोकन गरिसक्नुभएको छ ।

प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी तथा छिमेकीका साथै अन्य मित्रराष्ट्रसमेतका सहायतामा निर्मित एवं निर्माणाधीन राष्ट्रिय र प्रादेशिक गौरवका आयोजनाका तस्बिरहरू समावेश छन् ।

विसं २०७२ को गोरखा भूकम्पमा भत्किएका ऐतिहासिक सम्पदाका साथै सडक, पुल, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटनका पुनर्निर्मित भौतिक संरचना, नवनिर्मित पूर्वाधार, हुलाकी मार्ग, मूलपानी क्रिकेट मैदान, काठमाडौँ मधेस दू्रतमार्ग, थानकोट–नागढुङ्गा सुरुङमार्ग, सुनकोसी–मरिन डाइभर्सन बहुद्देश्यीय आयोजना, सौर्य प्यानल, एकीकृत बस्ती, राष्ट्रिय गौरव र प्रदेश गौरवका आयोजनाका राससबाट सम्प्रेषित तस्बिर प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९५ वटा तस्बिर समावेश छन् ।

गणतन्त्र दिवसका अवसरमा गत वर्ष पनि राससले ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा तस्बिर प्रदर्शनी आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery