Zenith Migration Education
Sunday, March 23, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

गणतन्त्रको मर्म र चरित्रअनुरुप गणतान्त्रिक संस्कारको विकास गर्नुपर्छ : सञ्चार मन्त्री

Zenith Migration Education

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रको मर्म र चरित्रअनुरुप गणतान्त्रिक संस्कारको विकास गर्दै यसलाई थप बलियो बनाउनुपर्ने बताउनुभएको छ । सत्रौँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै मन्त्री शर्माले गणतन्त्रमा गल्ती गर्ने छुट कोहीलाई नहुने उल्लेख गर्दै गल्ती गर्नेले उन्मुक्ति पाउँदैन भन्ने तथ्य स्थापित गरेर नै गणतान्त्रिक व्यवस्थालाई थप बलियो बनाउन सकिने बताउनुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी, दाजुभाइहरूमा हार्दिक बधाईसहित शुभकामना व्यक्त गर्दै मन्त्री शर्माले महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलनसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाका लागि भएका आन्दोलनमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । “बेपत्ता तथा घाइते यौद्धाहरूसहित गणतान्त्रिक आन्दोलनमा योगदान गर्ने राजनीतिक नेता, कार्यकर्ता, नागरिक समाज एवं आम जनसमुदायप्रति उच्च सम्मान व्यक्त गर्दछु”, मन्त्री शर्माले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । “नेपालमा दुई सय ४० वर्षको राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको १६ वर्ष पूरा भएको छ ।

नेपाली जनताको त्याग र बलिदानबाट स्थापित पहिलो संविधासभाबाट २०६५ जेठ १५ गते गणतन्त्र घोषणा गरिएपछि नेपाली जनताले सार्वभौम नागरिकको हैसियत प्राप्त गरेका हुन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै सङ्घीयता, समावेशी–समानुपातिक प्रतिनिधित्व र धर्मनिरपेक्षजस्ता ऐतिहासिक उपलब्धि हासिल भएका हुन् । यिनै राजनीतिक उपलब्धिका जगमा हामीले गणतान्त्रिक राज्य व्यवस्थाको अभ्यास गरिरहेका छौँ”, शुभकामना सन्देशमा भनिएको छ ।

गणतान्त्रिक व्यवस्थाले सबै जाति, भाषा, क्षेत्र, धर्म, लिङ्ग र समुदायका जनतालाई राज्यको मूलप्रवाहमा एकाकार गर्दै रुपान्तरणको बाटोमा अघि बढ्न सघाएको मन्त्री शर्माको भनाइ छ । सबै समुदायमा नेपाल राज्यप्रति साझा स्वामित्व र अपनत्व स्थापित गराउँदै राष्ट्रिय हितको प्रवर्द्र्धन तथा मुलुकको स्वाधीनता र सार्वभौमिकता सबल बनाउँदै लगेको उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । “राजनीतिक व्यवस्थाको परिवर्तन जनताको दशकौँदेखिको सपना हो, व्यवस्था परिवर्तन भए पनि व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन गर्ने हाम्रो कार्यभार बाँकी नै छ ।

प्राप्त राजनीतिक उपलब्धिको भरपूर उपभोग गर्दै, मुलुकको सम्पूर्ण शक्तिलाई एकाकार गर्दै, स्रोत साधनको यथोचित परिचालन र अवसरको न्यायोचित वितरणको नीतिमार्फत सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिको जगमा टेकेर समाजवाद निर्माणको बाटोबाट जनताको अवस्था परिवर्तन गर्न सकिनेछ” शुभकामना सन्देशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery Lumbini Kohinoor polyclinic