Zenith Migration Education
Tuesday, March 25, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

पढाइबाट वञ्चित महिलाका लागि चेतना विद्यालय

Zenith Migration Education

घोराही (दाङ) : उमेरले ५३ वर्षीया देवा खड्का अहिले कक्षा ५ मा पढ्नुहुन्छ । उहाँले घोराही उपमहानगरपालिका–१८ रझेनामा रहेको चेतना महिला अनौपचारिक विद्यालयमा पढाइलाई निरन्तरता दिनुभएको छ । कक्षा १ देखि नै सोही विद्यालयमा पढ्दै आएको उहाँ बताउनुहुन्छ । पढ्ने उमेरमा विभिन्न घरायसी समस्याका कारण पढाइबाट वञ्चित भएकाले अहिले पढ्न पाउँदा उहाँ खुसी व्यक्त गर्नुहुन्छ । खड्कालाई सुरुमा पढ्न लेख्न आउँदैन थियो । त्यसले गर्दा उहाँलाई घरमा हिसाब मिलान गर्नेदेखि बैंक जाँदा भौचर भर्नसमेत समस्या हुने गरेको थियो । यी कामका लागि अरूको भर पर्नुपर्ने समस्या भोग्नुपरेको बताउँदै उहाँ ढिलै भए पनि ज्ञान हासिल गर्न पाएको बताउनुहुन्छ ।

अहिले उहाँ सामान्य रूपमा पढ्न लेख्नदेखि बैंकमा भौचर भर्न सक्ने भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिले बैंकबाट पैसा झिक्न, राख्न सक्ने अवस्था थिएन, तर पढ्न थालेपछि अहिले आफैँ पैसा झिक्न राख्न सक्ने भएको छु, बैंक भौचर भर्न सक्छु ।” सुरुमा बुढेसकालमा किन पढ्नुप¥यो भन्ने श्रीमान् र छोराहरुले समेत अहिले आफ्नो पढाइबाट खुसी हुने गरेको उहाँ बताउनुहुन्छ । स्वास्थ्यले साथ दिएसम्म पढ्न नछाड्ने उहाँको भनाइ छ । उहाँ जस्तै घोराही–१७ का ३५ वर्षीया कालिका चौधरी कक्षा १ मा अध्ययन गर्दै आउनुभएको छ । अन्य विद्यार्थीजस्तै कालिका हरेक दिन किताब, कापी झोलामा बोकेर विद्यालय आउने र पढ्ने गर्दै आउनुभएको छ । घरायसी कामसँगै छोरीले पढ्नु हुँदैन भन्ने प्रचलनका कारण र सानै उमेरमा बिहे भएकाले पढ्न नपाउनुभएकी कालिका अहिले भने पढाइ पूरा गर्दै आउनुभएको छ । सानैदेखिको पढेर ज्ञान हासिल गर्ने इच्छा पूरा गर्नका लागि अहिले विद्यालय भर्ना भएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिले पढ्छु भन्दा पनि पढ्न पाउने अवस्था थिएन, घरको काम गर्नु पथ्र्यो, अहिले घरको कामलाई व्यवस्थापन गर्दै पढ्न लेख्न सिक्दै छु ।” घर परिवारको पनि राम्रो साथ पाएका कारण विद्यालयसम्म आएर पढ्न सहज भएको उहाँ बताउनुहुन्छ ।

घोराही–१५ निवासी २३ वर्षीया नुरजला खत्री क्षेत्री कक्षा १ मा पढ्दै हुनुहुन्छ । घरको कमजोर आर्थिक अवस्थाका कारण सानोमा पढ्न नपाउनुभएकी नुरजला अहिले श्रीमान् र घर परिवारको राम्रो साथ पाएका कारण पढाइलाई निरन्तरता दिन थाल्नुभएको छ । नपढेको मान्छेसँग ज्ञान नहुने र जसले पनि हेप्ने गरेकाले आफूले पढ्न थालेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “घरको आर्थिक अवस्था कमजोर भएका कारण सानोमा बुवाआमाले पहिले पढाउन सक्नुभएन, तर अहिले बिहेपछि पनि पढ्न पाएको छु ।” उहाँका दुई छोराछोरीसमेत छन् । घोराही–१८ नवलपुर निवासी ३१ वर्षीया सम्झना चौधरीले अहिले कक्षा ४ मा पढ्नुहुन्छ । पढ्ने उमेरमा उहाँलाई पनि विभिन्न समस्याका कारणले गर्दा पढाइबाट वञ्चित हुनुपरेको थियो । अहिले घर परिवारले पढ्नुपर्छ, पढाइलाई उमेरले छेक्दैन भनेर हौसल्ला दिँदा खुसी लाग्ने गरेको उहाँको भनाइ छ ।

विद्यालयमा आफूजस्तै अन्य दिदी बहिनीहरुलाई देख्दा अझ धेरै पढ्न मन लाग्ने गरेको उहाँको अनुभव रहेको छ । चेतना महिला अनौपचारिक विद्यालयले पढ्न नपाएर वञ्चित महिलाहरुका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यस विद्यालयमा १५ देखि ५९ वर्षसम्मका महिलाहरुले अध्ययन गर्दै आएको विद्यालयका प्रधानाध्यापक सुमित्रा पन्थी सुवेदी बताउनहुन्छ । अहिले पनि समाजमा पढ्न, लेख्नसँगै आफ्नो नाम लेख्न नजान्ने महिलालाई शिक्षा दिने काम गर्दै आएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिले पनि समाजमा पढ्ने लेख्ने रहर भएर पनि पढ्न नपाउनुभएका महिला हुनुहुन्छ, उहाँहरूलाई नै ध्यान दिँदै यो विद्यालय खुलेको हो, पढाउने कामसमेत गर्दै आएका छौँ ।” यस विद्यालयमा अध्ययन गरेका महिला एसइईसँगै कतिपयले स्नातकोत्तरसम्म अध्ययन गरिरहेको प्रधानाध्यापक पन्थी बताउनुहुन्छ ।

करिब १५ वर्षअघि घोराहीमा स्थापना भएको चेतना महिला अनौपचारिक विद्यालयमा यसवर्ष कक्षा १ देखि ८ सम्म ३० जना बढी महिलाले अध्ययन गर्दै आएको उहाँको भनाइ छ । सामुदायिक विद्यालयमा अध्ययन गराइने कोर्षअनुसार नै चेतना महिला अनौपचारिक विद्यालयमा पठनपाठन हुने गरेको छ । विद्यालयमा पाँच शिक्षक सबै महिला नै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery Lumbini Kohinoor polyclinic