गलकोट (बागलुङ): बागलुङ जिल्लाको धौलागिरि अस्पताल, वुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र गलकोट नगरपालिकासँगै २७ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतनको सेवा लिन पाइन्छ । तर उक्त गर्भपतनको पछिल्लो तथ्याङ्क बढ्दो छ । गर्भवतनलाई बाध्यताका रुपमा नलिई विकल्पका रुपमा लिन थालेपछि यसको तथ्याङ्क वृद्धि हुन थालेको स्वास्थ्यकर्मीहरु बताउँछन् । गर्भपतन विकल्प होइन्, बाध्यता हो तर विकल्पका रुपमा लिँदा गर्भपतनको सङ्ख्या बढ्दो भएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य प्रशासक बाबुराम आचार्यको भनाइ छ । उहाँले भन्नुभयो, “बाध्यात्मक परिस्थितिबाहेक गर्भपतन गर्नुपर्ने अवस्था आउनै दिन नहुने परिवार नियोजनको विषयमा जानकारी गराउने, गर्भपतनको असरका विषयमा अवगत गराउने कार्यलाई बढाउन आवश्यक देखिएको छ, २० वर्ष नपुग्दै गर्भपतन गराउनु अत्यन्तै जोखिम हो ।” स्वास्थ्य कार्यालयको तथ्याङ्क हेर्दा गर्भपतन गराउने सङ्ख्या बढ्दो छ ।
चालु आवको चैत मसान्तसम्म बागलुङका सात सय ९८ जना महिलाले गर्भपतन गराएका छन् । जसमध्ये २० वर्षभन्दा कम उमेर समूहका २४ जना रहेको स्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्क छ । २० वर्षभन्दा तलका २४ मध्ये चार जनाको सर्जिकल माध्यमबाट र २० जनालाई औषधि खुवाएर सुरक्षित गर्भपतन गराइएको छ । यस वर्ष १२ हप्ताभन्दा माथिका गर्भपतन गराउनेको सङ्ख्या अत्यधिक वृद्धि भएको छ । गत आवमा २० वर्ष माथिका एक जना महिलाको १२ हप्ता माथिको गर्भ औषधि सेवन गरेर पतन गरिएको थियो । तर चालु आवमा २० वर्षमाथिका १८ र २० वर्ष तलका दुई जना महिलाले १२ हप्ताभन्दा माथिका गर्भ औषधि प्रयोग गरेर पतन गरिसकेका छन् । बीस वर्ष मुनीका चार जनाको १८ हप्ताभन्दा माथिका गर्भ उपकरण प्रयोग गरेर पतन गराइएको छ ।
सरकारले गर्भवतीको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गराउन सक्ने र स्वास्थ्यकर्मीको परामर्शमा बच्चा जन्माउँदा महिलाको ज्यान खतरामा पर्न सक्ने, विकलाङ्ग, जबरजस्ती करणी, हाडनातामा करणी, निको नहुने प्रकृतिका रोग लागेको भएमा महिलाकै मञ्जुरीमा २८ हप्तासम्मको गर्भ सुरक्षित रुपमा पतन गराउन मिल्ने कानुनी व्यवस्था छ । यस वर्ष २० वर्षभन्दा तलका २९ र त्यसभन्दा बढी उमेर समूहका छ सय ७८ जनाले १२ हप्तासम्मको गर्भ स्वास्थ्य संस्थामा औषधि सेवन गरेर र चार जना २० वर्ष मुनी र ६३ जनाको २० वर्षमाथिकाको १२ हप्तासम्मको गर्भ उपकरणको प्रयोग गरेर पतन गराइएको छ । परिवारकै सहमतिमा हुने अधिकांश गर्भपतन पनि जिल्ला बाहिरका स्वास्थ्य संस्था रोज्ने गरेको कार्यालय प्रमुख बाबुराम आचार्यले बताउनुभयो । गत आवमा १२ हप्ताभन्दा कमको सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या एक हजार ८४ छ । उनासी जना २० वर्ष तलका र नौ सय ४२ जना २० वर्षमाथिले औषधि सेवन गरी गर्भपतन गराएका छन् । २० वर्ष माथिका ६२ र तलका एक जनाले उपकरण प्रयोग गरेर गर्भपतन गराएको तथ्याङ्क छ ।
स्वास्थ्य संस्थाबाहेक विभिन्न क्लिनिकबाट गर्भपतन गराउनेको सङ्ख्या अझ बढी हुन सक्ने आचार्यको भनाइ छ । व्यक्तिगतरुपमा क्लिनिकमा गर्भपतन गराउने क्रम जारी रहेको उहाँको भनाइ छ । स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन गराउँदा गराउँदै पनि कहिलेकाही गर्भवती महिलाको स्वास्थ्यमा समस्या आउन सक्छ । गत आवमा औषधि खुवाएर सुरक्षित गर्भपतन गराएका २१ र उपकरणको माध्यमबाट गर्भपतन गराएका चार जनामा जटिल समस्या देखिएको थियो ।
यस वर्ष पनि नौ जना औषधि सेवनबाट गर्भपतन गराएका र एक जना उपकरणको प्रयोगबाट गर्भपतन गराउनेहरुमा समस्या देखिएको छ । गर्भपतनका क्रममा अत्यधिक रत्तस्राव हुने, दुखाइ धेरै हुने, प्रजनन अङ्गमा समस्या आउने र दोस्रो गर्भ रहन समय लाग्ने जस्ता समस्या देखिने गरेका कार्यालय प्रमुख आचार्यले बताउनुभयो । “गर्भ रहनै नदिने अनेकन उपाए हुँदाहुँदै पनि गर्भपतनका लागि स्वास्थ्य संस्था आउनुहुन्छ, उहाँहरुमा चेतना हुँदाहुँदै पनि परिवार नियोजनको उपाय नअपनाएको पाइन्छ”, आचार्यले भन्नुभयो । गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा प्रतिकूल असर पर्छ, गर्भपतनलाई पनि सामान्य रुपमा लिएको जस्तो लाग्छ, पटक पटकको गर्भपतनले महिलाको गर्भ क्षमतामा मात्रै ह्रास आउने हैन ज्यान जोखिममा पर्ने उहाँको भनाइ छ ।