Zenith Migration Education
Thursday, June 19, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

सात हजार सात सय १३ बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

Zenith Migration Education

खोटाङ: यही जेठ १३ गतेदेखि सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपिभी खोप कार्यक्रमअन्तर्गत जिल्लाका सात हजार सात सय १३ बालबालिकालाई आइपिभी खोप उपलब्ध गराउने तयारी गरिएको छ । विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्मका बालबालिकालाई यही जेठ १३ गतेदेखि देशभर एकैसाथ सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपिभी खोप उपलब्ध गराउने सरकारको निर्धारित कार्यक्रमअन्तर्गत खोटाङमा पनि खोप कार्यक्रम तय गरिएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई हजार एक सय १२ तथा हलेसी तुवाचुङ नगरपालिकाका एक हजार दुई सय ४८ बालबालिकालाई आइपिभी खोप लगाउने तयारी गरिएको जनाइएको छ । केपिलासगढी गाउँपालिकाका पाँच सय ८९, ऐँसेलुखर्कका पाँच सय ५७, रावाबेँसीका चार सय ४३, साकेलाका चार सय ४९, दिप्रुङ चुइचुम्माका छ सय ९५, खोटेहाङका छ सय ८८, जन्तेढुङ्गाका पाँच सय नौ र बराहपोखरी गाउँपालिकाका चार सय २३ बालबालिकालाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यही जेठ १३ गतेदेखि तीन दिनसम्म सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपिभी खोप कार्यक्रमका लागि जिल्लामा दुई सय ५७ खोप केन्द्र निर्धारण गरिएको स्वास्थ्य कार्यालयका प्रमुख जीवनप्रसाद चौलागाईंले जानकारी दिनुभयो । खोप कार्यक्रमका लागि हरेक खोप केन्द्रमा एक/एक स्वास्थ्यकर्मी तथा दुई÷दुई महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्धारित कार्यक्रमअन्तर्गत जिल्लाका दशवटै स्थानीय तहमा एकैसाथ खोप कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको स्वास्थ्य कार्यालय प्रमुख चौलागाईंले जानकारी दिनुभयो । “विसं २०७३ वैशाखदेखि विसं २०७५ असोज मसान्तसम्मको अवधिमा पोलियो खोप कार्यक्रम थिएन, सरकारले ती छुटेका बालबालिकालाई लक्षित गरेर खोप कार्यक्रम ल्याएको हो”, उहाँले भन्नुभयो, “यसअघि खोप लगाएकाले पुनः लगाउनु पर्दैन, पोलियो थोपा खुवाइरहेका बालबालिकालाई खोप लगाउन पर्दैन कि भन्ने हुनसक्छ, खोप र पोलियो थोपा फरक हो, पोलियो थोपा खुवाइरहेकालाई पनि खोप लगाउनुपर्छ ।” पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४८ खोप केन्द्र निर्धारण गरिएको स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले जानकारी दिनुभयो ।

प्रत्येक वडामा तीन/तीन दिन खोप कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । नगरपालिकाले शुक्रबार नगर खोप समन्वय समितिका पदाधिकारी तथा सरोकारवाला निकायसँग पोलियो रोगविरुद्धको आइपिभी खोप कार्यक्रमसम्बन्धी अन्तरक्रियासमेत आयोजना गरेको छ । अन्तरक्रिया कार्यक्रममा सहभागीले नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत पोलियो रोगविरुद्धको आइपिभी खोप कार्यक्रम सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपालमा सन् २०२२ देखि २०२६ सम्ममा पोलियो रोग उन्मूलन गर्ने सरकारको रणनीतिक योजना रहेको छ । विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्मको अवधिमा देशभर गरी छुटेका करिब १४ लाख ६२ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभी खोप उपलब्ध गराउने तयारी गरिएको छ । पोलियो रोगविरुद्धको खोप नलगाएमा स्थायीरुपमा पक्षघात हुन सक्ने स्वास्थ्यकर्मीले बताएका छन् । सबैभन्दा बढी पाँच वर्षसम्मका बालबालिका पोलियो रोगको भाइरसबाट सङ्क्रमित हुन सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery