Thursday, April 30, 2026
Zenith Migration Education
Thursday, April 30, 2026

नेपालमै उत्पादन हुने पहिलो अन्तर्राष्ट्रिय ब्रान्ड बन्यो हुन्डाई, चर्चित मोडल बनाउन सुरु (तस्बिरसहित)

Zenith Migration Education

काठमाडौं। विश्व प्रसिद्ध कोरियाली अटो निर्मााता कम्पनीले नेपालमै हुन्डाई ब्रान्डका गाडी नेपालमै एसेम्बल सुरु गरेको छ।

नेपालका लागि दक्षिण कोरियाली बहुराष्ट्रिय कम्पनी हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी मोटर कर्पाेरेसनले नेपालमै हुन्डाईको एसेम्बल प्लान्ट सञ्चालनमा ल्याएको हो। उक्त प्लान्टको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेसँगै व्यावसायिक उत्पादन पनि बजारमा आएको हो।

दक्षिण कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वर्षको अवसर पारेर उक्त कारखाना उद्घाटन गरिएको हो। नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डको चारपांग्रे गाडी एसेम्बल गर्ने यो पहिलो कारखाना समेत भएको छ।

कर्पाेरेसनले ६ महिनादेखि नै उक्त प्लान्टबाट हुन्डाईको कम्प्याक्ट एसयूभी भेन्यू गाडीको परीक्षण उत्पादन गरिरहेको छ। परीक्षण उत्पादन सफल भएसँगै भेन्यूको व्यावसायिक उत्पादन पनि थालिएको छ। लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठले परीक्षण उत्पादन सफल भएपछि व्यावसायिक उत्पादनको शुरुआत गरिएको बताए।

सुरुमा भेन्यूको व्यावसायिक उत्पादन गर्ने, त्यसपछि आई १०, क्रेटा र आई २० मोडलका चारपांग्रे गाडी उत्पादन गर्दै जाने योजना रहेको उनले जानकारी दिए।

श्रेष्ठका अनुसार उक्त प्लान्टको वार्षिक गाडी उत्पादन क्षमता ५ हजार ४०० थान छ । हुन्डाई गाडी उत्पादन नेपालमै हुने भए पनि कोरियाली कम्पनीको लगानी उक्त प्लान्टमा नरहेको श्रेष्ठले स्पष्ट पारे। नेपालले चारपांग्रे र दुईपांग्रे सवारीसाधन आयातमा अर्बौं रुपैयाँ खर्च गर्दै आएको छ।

परासीको रामग्राम नगरपालिकामा १५ बिघाभित्र कारखाना सञ्चालनमा आएको छ। लक्ष्मी मोटर कर्पाेरेसनले कारखाना निर्माणमा ५ अर्ब बढी लगानी गरेको हो।

नेपालमा हुन्डाई मोटरको आधिकारिक बिक्रेता लक्ष्मी हुन्डाईले नवलपरासीको परासीमा हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले परासीमा खोलिएको हुन्डाई मोटर एसेम्बलिङ प्लान्टको उद्घाटन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु