Friday, June 12, 2026
Zenith Migration Education
Friday, June 12, 2026

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी

Zenith Migration Education

काठमाडौँ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरुले बैङ्कभन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको बताउनुभएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन)ले आज यहाँ आयोजना गरेको दोस्रो लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा मन्त्री अधिकारीले सहकारीहरु आफ्नो मूल्य मान्यता र सिद्धान्त विपरीत अस्वस्थ प्रतिस्पर्धामा लाग्दा समस्या सिर्जना भएको बताउनुभयो। जुन उद्देश्यका साथ सहकारी स्थापना भएका थिए त्यसको खिलाफमा काम भइरहेको उहाँको धारणा छ ।

“सहकारीहरु बैङ्कभन्दा ठूलो कारोबार गर्ने अभ्यासमा लागे, सहकारीको मूल्य मान्यता विपरीत काम गर्न थाले, बचतकर्ताको बचतलाई दुरुपयोग गर्ने अधिकार कसैलाई पनि हुँदैन, सहकारीमा आबद्धहरुले नै समाधान गर्ने हो, सरकारले सल्लाह दिने हो, यो बाटो जाउ भन्ने हो, सरकारले समस्या समाधान गर्ने होइन”, मन्त्री अधिकारीले भन्नुभयो । सदस्यले पनि सबै कुराको जिम्मा सञ्चालकलाई दिन नहुने उहाँको धारणा छ ।

“शिक्षक, डाक्टर तथा वकिल सबै यो क्षेत्रमा छन्, सर्वप्रथम मेरो कर्तव्य के हो भन्ने बुझ्नुपर्छ, त्यो बुझ्न सकियो भने यो समस्या आउँदैन”, मन्त्री अधिकारीले भन्नुभयो । लेखा सुपरीवेक्षण समितिमा पनि खोट रहेको उल्लेख गर्दै उहाँले अहिलेको समस्या समाधान गर्न अहिलेदेखि नै लाग्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बामा धमिरा लागेको धारणा राख्नुभयो । उहाँले सहकारी अभियान भुमरीमा परेको बताउनुभयो ।

सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीको खोल आढेर बदमासी गर्नेलाई कानुनी कारबाही गरेरै छाड्ने बताउनुभयो । उहाँले सहकारीको प्रभावकारी नियमनका लागि यही वैशाख मसान्तभित्रै ऐनको मस्यौदा सार्वजनिक गर्ने उल्लेख गर्दै अब सहकारी देखाएर गलत गर्नेलाई कारबाही गरेरै छाड्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु