Thursday, April 16, 2026
Zenith Migration Education
Thursday, April 16, 2026

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दङ्ग

Zenith Migration Education

महोत्तरी: आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान दङ्ग छन् । पशुबस्तुका लागि पोसिलो मानिने मेनदोला, भटमासे र बकाइनोको बीउ पाएपछि यहाँका किसान दङ्ग भएका हुन् ।

किसानलाई मटिहानी नगरपालिका र हेफर प्रजेक्टको ‘कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना’ले सोमबार डाले घाँसको बीउ वितरण गरेको हो । विभिन्न समूहमा आबद्ध महिला किसानलाई जनही मेनदोला–५५०, बकाइनो–१५० र भटमासे–१२० ग्राम दिइएको परियोजना संयोजक महेश यादवले बताउनुभयो । डाले घाँसको बीउ मटिहानी नगरक्षेत्रका २०० बढी महिला किसानले पाएका छन् ।

आफ्नै घरआगनमा पोसिलो घाँसको बीउ पाएपछि अब पशुबस्तुका लागि घाँस खोज्न चिन्ता हराएको बीउ लिएका महिला बताउँछन् ।“प्रतिकूल मौसममा पनि घाँस काट्नुपथ्र्यो” मटिहानी–२ की पशुपालक किसान विमला खत्वे भन्नुहुन्छ,“अब आफ्नो घर नजिकको बारीमा घाँस हुर्काएपछि निकै सजिलो हुनेछ ।” खत्वेजस्तै मटिहानी–३ की ललितादेवी मण्डल र मटिहानी–९ की बच्चीदेवी साफीले पनि घरपालुवा पशुबस्तुलाई आफ्नै बारीमा उत्पादित पोसिलो घाँस ख्वाउन पाइने बताउनुभयो।मटिहानीमा विभिन्न समूहमा आबद्ध महिला किसानले परियोजनाको सहयोगमा उन्नत जातका बाख्रा र कोरली पाल्दै आएका छन् ।

महिला किसानलाई आय आर्जनमा उत्प्रेरित गर्न यो परियोजनाले सघाउ पु¥याएको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ । पशुपालनमा लागेपछि उनीहरू आर्थिक रूपमा आत्मनिर्भर भएका छन् । ।मटिहानी नगरपालिकाले बर्सेनि कृषिलक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ । विगत पाँच वर्षदेखि बर्सेनि मौसमअनुसारका फलफूल, तरकारी र अन्नका बीउबिरुवासँगै प्रविधिक सहयोग पनि प्रदान हुँदै नगरप्रमुख मण्डलले बताउनुभयो । पछिल्लो समयमा परियोजनाको सहयोगले हौसिएका नगरका महिला बाख्रा, कोरली पालनमा जुटेका छन् । “हामी अब आफै केही गर्न सक्ने भयौँजस्तो लागेको छ” मटिहानी–२ की पशुपालक किसान सुजिता यादव भन्नुहुन्छ, “परियोजनाले हामीलाई आत्मनिर्भर बनाउँदैछ ।’’

यसैगरी सोमबार नै परियोजनाले सातवटा महिला सहकारी संस्थालाई अभिलेख राख्न सहयोग पुग्ने उद्देश्यले ल्यापटप, प्रिन्टरसहितका सामग्री प्रदान गरेको छ ।महिला सहकारीलाई उत्पादित फलफुल र तरकारी सुरक्षित राख्न र बजारसम्म पुर्याउन ‘क्यारेट’ पनि उपलब्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु