Zenith Migration Education
Friday, July 11, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो

Zenith Migration Education

चैनपुर, (बझाङ) : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि आज वायु प्रदूषणले जिल्लाको अधिकांश भूभाग अँध्यारो भएको छ ।

मध्याह्नतिर वातावरण प्रदुषण भएपछि एक गाउँबाट अर्को गाउँसमेत नदेखिएको जयपृथ्वी नगरपालिका–४ का सत्यराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “मध्याह्नको बेला यस्तो अँध्यारो त कहिल्यै देखिएको थिएन । यो पटकको प्रदूषणले भने बझाङको अवस्था निकै कष्टकर भएकोे छ ।” डिभिजन वन कार्यालय बझाङका अनुसार जिल्लाका अधिकांश वन डढेलोको उच्च जोखिममा रहेकाले समुदायमा जनचेतना फैलाउँदा पनि स्थानीयले अटेर गरेका छन् । कार्यालयका सूचना अधिकारी कपिल रावलले आगो लगाउने मान्छेलाई कारबाहीका लागि सूचना नै जारी गरेको बताउनुभयो । “डिभिजन वन कार्यालयले सुक्खायाममा मानवीय कारणबाट हुने डढेलो रोक्न सचेतना अभियानअन्तर्गत माइकिङ, रेडियो तथा पत्रपत्रिकाबाट सूचना सामग्री प्रसारण, पोस्टर टाँस्ने, डेमो गराउनेलगायतका कार्य गर्दा पनि अटेर गरेपछि आगो लगाउनेलाई कारबाही गर्नका लागि सूचना निकालेका छौँ ।” गोप्य सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरिने उहाँले बताउनुभयो ।

सूचना अधिकारी रावलले स्थानीयले घाँस पलाउने, बाँदरले दुःख दिँदैनन् भन्ने धारणाले गर्दा वनमा आगो लगाउने गरेको बताउनुभयो । कतिपय ठाउँमा वन्यजन्तुको सिकारका लागिसमेत जानाजान आगो लगाउने गरेको उहाँले बताउनुभयो । रावलका अनुसार आगलागी भएको ठाउँमा नियन्त्रणका लागि जनप्रतिनिधि, नेपाल प्रहरी र नेपाली सेना खटिनुभएको छ । हिन्दुकुश हिमालयका मानिसको पक्षमा कार्यरत अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अनुसार बझाङमा वित्थडचिर, दुर्गाथली, थलारा, मष्टा गाउँपालिका, बुंगल र जयपृथ्वी नगरपालिकामा आगलागी भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery