Wednesday, February 11, 2026
Zenith Migration Education
Wednesday, February 11, 2026

अग्निपीडितलाई आर्थिक सहयोग

Zenith Migration Education

काभ्रेपलाञ्चोक: जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ ।

उक्त गाउँका १५ परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत विभिन्न सङ्घसंस्थाबाट उपलब्ध राहत सामग्री वितरण गरिएको हो । समितिले बुधबार गाउँपालिका कार्यालय, नेपाल रेडक्रस सोसाइटी र उद्योग वाणिज्य सङ्घद्वारा उपलब्ध राहत सामग्री वितरण गरेको हो । गाउँ नजिकको सामुदायिक वनमा लागेको डढेलो हुरीबतासका कारण बस्तीमा फैलिएपछि सानोपोटा गाउँका १५ घर जलेका थिए ।

गाउँपालिकाले प्रतिपरिवार दुई बोरा चामल, त्रिपाल, नुन, तेल र दाल, रेडक्रसले भाडाकुँडा, कम्बललगाय सामग्री तथा सङ्घले पीडितलाई प्रतिपरिवार एक बोरा चालम, दाल एक किलो, खानेतेल एक लिटर, नुन एक किलो प्रदान गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामासहित तरुण दलका केन्द्रीय सदस्यको टोलीले बुधबार नै पीडित प्रतिपरिवारलाई दुई बोरा चामल, नुन, तेल दाल तथा बागमती प्रदेशसभा सदस्य तीर्थ लामाले खाद्यान्न सहयोग गर्नुभएको थियो ।

विपद् व्यवस्थापन समितिले पीडितलाई प्रतिपरिवार रु पाँच हजारका दरले नगद पनि उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सरकारबाट पाउने राहतमध्ये हाललाई रु पाँच हजार दिइएको र बाँकी रु दश हजार केही दिनमै उपलब्ध गराइने बताउनुभयो । साथै, क्षतिग्रस्त घर पुनःनिर्माण गर्न स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकारको समन्वयमा प्रक्रिया अघि बढाउन पहल गरिने शर्माले बताउनुभयो । आगलागीबाट रु दुई करोड २६ लाख ३० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु