Zenith Migration Education
Tuesday, March 25, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

सहरी क्षेत्रमा कौसी खेती फस्टाउँदै

Zenith Migration Education

लेखनाथ (कास्की): पोखरा-८ निवासी क्रान्ति अधिकारीको कौसीमा उत्पादन भएको तरकारीले चार जनाको परिवारलाई वर्षभरि खान पुग्छ । उहाँ सफल कौसी खेती किसानको रुपमा परिचित हुनुहुन्छ ।

व्यापारको सिलसिलामा चितवनबाट पोखरा आउनुभएका अधिकारी परिवारले पोखरा–८ स्थित सिमलचौरमा पाँच आना जग्गामा घर बनाउनुभयो । तरकारी लगाउने ठाउँ नभएपछि उहाँले पाँच वर्षअघिदेखि कौसीमा तरकारी लगाउन सुरु गर्नुभयो ।

अधिकारीले भन्नुभयो, “यतिबेला मेरो घरको कौसीमा गोलभेडा, बन्दा, घिरौँला, काँक्रो, लौका जस्ता तरकारी फलेका छन् । ती तरकारीले परिवारलाई खान पुग्छ, मेरो भान्छामा खाने ८० प्रतिशत तरकारी कौसी कै उत्पादनले पुग्छ ।”

पोखराका ३३ वडामध्ये सहरी क्षेत्रका १७ वटा वडामा पोखरा महानगरपालिकाले दुई वर्षयता कौसी तथा करेसाबारी तरकारी खेतीलाई अनुदान दिने गरेको छ ।

पोखरा महानगरपालिका र नेपाल विकास समाज कास्कीले यही वैशाख १५ गतेदेखि तीन दिने घरेलु फोहर व्यवस्थापनका लागि कम्पोष्टिङ, करेसाबारी तथा कौसी खेतीसम्बन्धी प्रशिक्षक-प्रशिक्षण तालिम आयोजना गरेको छ ।

करेसाबारी तथा कौसी खेती सम्बन्धी उक्त तालिममा पोखराका पाँच वडाका ३० महिला सहभागी छन् । तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गर्नुहुँदै पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले कौसीकै तरकारीबाट आत्मनिर्भर हुँदा गृहिणीहरुलाई उत्साह मिल्ने बताउनुभयो ।

सहर बजारमा पर्याप्त जग्गा नहुँदा कौसीमा तरकारी लगाउने अभियानले यतिबेला पोखरामा तीव्रता पाएको बताउनुहुँदै उपप्रमुख गुरुङले घरको भान्छामा खेर गएको फोहोरलाई कम्पोष्ट मल बनाएर प्रयोग गर्दा फोहोर व्यवस्थापन हुने बताउनुभयो । “मेहनेतसाथ उत्पादन गरेको तरकारी आफूले खाँदा आनन्द आउँछ”, उपप्रमुख गुरुङले भन्नुभयो, “तरकारी किन्दा हुने खर्च पनि बचत हुन्छ ।”

पोखरा-५ जिरो किलोमिटर निवासी दुर्गा अधिकारीले २० वर्षदेखि करेसाबारीमा तरकारी खेती गर्दै आउनुभएको छ । दुई वर्षअघि घरको तला थपेपछि करेसाबारीमा घरको ओझेलले तरकारी हुन छाड्यो । विकल्पमा उहाँले कौसी खेती सुरु गर्नुभयो । अहिले करेसाबारीमा हुने भन्दा बढी तरकारी उत्पादन उहाँको कौसीमा हुने गरेको छ ।

पोखरा महानगरपालिका कृषि तथा आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले केही वर्षदेखि पोखराको सहरी क्षेत्रमा कौसी तथा करेसाबारी खेतीबाट वार्षिक रु २४ देखि २५ करोडको तरकारी उत्पादन हुने गरेको बताउनुभयो । उहाँले पोखराको सहरी क्षेत्रमा ३५ हजार परिवारले कौसी तथा करेसाबारीमा तरकारी खेती गर्दै आएको जानकारी दिनुभयो ।

कौसी खेतीलाई बढवा दिन पोखरा महानगरपालिकाले वडा–वडामा कृषि सञ्जाल गठन गरेको छ । तालिममा कौसी खेती कृषकले आ-आफ्ना अनुभव साटेका छन् ।

महानगरले कौसीखेती गर्ने किसानलाई मल प्रविधि, बिरुवा, गमला, कोकोपिट, कम्पोष्ट विन लगायतमा ५० प्रतिशत अनुदान दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery Lumbini Kohinoor polyclinic