सिड्नी : हिजो शनिबार सिड्नीको वेस्टफिल्ड बोन्डी जन्क्सन कम्प्लेक्समा चक्कु प्रहार गरी ६ जनाको हत्या गर्ने व्यक्तिको पहिचान खुलेको छ।
हत्यारा ४० वर्षीय जोएल काउची रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी मानसिक रोगी भएको र एक महिना अघि मात्र क्वीन्सल्याण्डबाट सिड्नी आएका थिए।
काउचीले शनिबार भीडभाड भएको वेस्टफिल्ड जन्क्सनमा चक्कु प्रहार गरी ५ महिला र १ पुरुष गरी ६ जनाको हत्या गरेका थिए भने ८ जना घाइते भएका थिए।
तर उनले गरेको चक्कु प्रहारलाई “आतंकवादी कार्य” को रूपमा वर्णन नगर्ने प्रहरी अधिकारीले जनाएका छन्।
क्वीन्सल्याण्ड प्रहरीका अनुसार काउची लामो समय घुमफीर गर्दै बसेका थिए र उनलाई १७ वर्षको उमेरमा मानसिक रोग लागेको पत्ता लागेको थियो।
काउचीको परिवारले उनको यो कार्यलाई “भयानक” घटना बताएको र क्वीन्सल्याण्ड प्रहरी मार्फत जारी विज्ञप्तिमा “उनमा किशोरावस्थादेखि नै मानसिक स्वास्थ्य समस्याहरू” भएको बताएको छ।
काउचीको परिवारले भन्यो, “हिजो सिड्नीमा भएको बीभत्स घटनाबाट हामी पूर्ण रूपमा स्तब्ध भएका छौं।” “हाम्रो विचार र प्रार्थना पीडितका परिवार र साथीहरू र यस समयमा अझै उपचार गराइरहेकाहरूसँग छ।”
परिवारले भन्यो, “जोएलका कार्यहरू साँच्चै भयानक थिए, र हामी अझै के भयो भनेर बुझ्न प्रयास गरिरहेका छौं।”
उनीहरूले आफूहरू प्रहरीसँग सम्पर्कमा रहेको र श्री काउचीलाई गोली हानेका अधिकारीसँग “कुनै समस्या” नभएको बताए। “उनले अरूलाई बचाउनको लागि आफ्नो ड्युटी निभाएकी थिइन्।”