सिड्नी। अष्ट्रेलियाको सिड्नीमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ६ जनाको निधन भएको छ। सिड्नी सहरको एक व्यस्त सपिङ मलमा ती व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा कम्तीमा ६ जनाको मृत्यु भएको हो । प्रहरीको गोलीबाट आक्रमणकारी पनि मारिएको छन् ।
न्यू साउथ वेल्सका प्रहरी आयुक्त केरेन वेबका अनुसार पाँच जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ । घटनामा आठ जना घाइते भएका छन् । जसमा एक ९ महिने शिशु पनि रहेका छन् ।
आक्रमणकारी ४० वर्षीय पुरुष रहेको र उनीबारे प्रहरी जानकार रहेको बताइएको छ । घटना आतंकवादसँग सम्बन्धित नरहेको अधिकारीहरूले बताए पनि आक्रमणको कारणबारे भने खुलाइएको छैन । स्थानीय समयअनुसार दिउँसो तीन बजे वेस्टफिल्ड बोन्डी जंकसनमा सो घटना घटेको थियो ।
अस्ट्रेलियामा यसरी सामूहिक हत्या भएको सन् २०१९ पछि पहिलो पटक हो । डार्विनमा भएको सामूहिक गोलीकाण्डमा ४ जनाको मृत्यु भएको थियो । सन् २०१७ मा जेम्स गार्गासोलासले सर्वसाधारणमाथि गाडीले किच्दा ६ जनाको मृत्यु भएको थियो । त्योभन्दा अघि सन् १९९६ मा पोर्ट आर्थर हत्याकाण्डमा तास्मानियामा ३५ जनाको मृत्यु भएको थियो ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिसले घटनालाई सर्वसाधारणमाथि लक्षित गरिएको भयानक हिंसाको संज्ञा दिएका छन् । उनले आक्रमणकारीलाई मार्ने प्रहरी अधिकारीको प्रशंसासमेत गरेका छन् ।
