Zenith Migration Education
Sunday, March 23, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

विशेष कुराकानी: अष्ट्रेलियामा रहेका नेपालीलाई हामीले अभिभावकत्व प्रदान गरेका छौं: महामहिम पोखरेल

Zenith Migration Education

कैलाशराज पोखरेल, अष्ट्रेलियाको लागि नेपालको राजदूत हुनुहुन्छ । उहाँसँग सरकारीलगायत विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थामा रहेर काम गरेको लामो अनुभव छ । ओखलढुंगामा जन्मिएर सरकारीसेवा हुँदै अन्तर्राष्ट्रिय संघ-संस्थाहरुमा समेत आफ्नो कार्यदक्षता सशक्त ढंगबाट पदर्शन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उहाँले छलाङ्ग मार्नु भएको छ ।

उहाँको परिवारमा श्रीमती, एक छोरा र बुहारी हुनुहुन्छ । छोरा र बुहारी मेडिकल डाक्टर जो भारतमा सेवारत हुनुहुन्छ भने श्रीमती उहाँसँग अष्ट्रेलियामा हुनुहुन्छ ।

महामहिम पोखरेलसँग वचनन्यूजका प्रकाश तथा सम्पादक केदारकुमार रायमाझीले गर्नुभएको कुराकानीको मुख्य अंशः

अनुभवको कुरा गर्दा सरकारीसेवालगायत राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा अन्तर्राष्ट्रिय व्यक्तिहरुसँग सहकार्य गर्दा सिकाइ र अनुभव धेरै नै भयो । काम गर्दै जाँदा सिकेर सकियो भन्नेचाहिँ नहुँदो रहेछ, जति सिक्दै गयो, उति नयाँ-नयाँ सिकाइ र अनुभव समेटिदैं जाने रहेछ । ४० वर्षको सेवामा जानेको कुरा सिकाइयो, नजानेको कुरा सिकियो । सिकाइको आदान–प्रदान भयो । सिक्ने र सिकाउने, गर्ने र गराउने मामिलामा चुनौती हरेक कदममा हुन्छ नै तर ती चुनौती, सिकाइ, भोगाइहरुले खारिदैं लैजान्टछ र ती पार गर्दै यहाँसम्म आइपुगेको छु ।

काम गर्दैजाँदा कहाँ पुग्छु भनेर परिश्रम गर्ने होइन रहेछ । तर एउटा लक्ष्यका साथ अगाडि बढ्ने हो । गर्दै जाँदा एउटा स्तरमा पुगिन्छ । सामान्य जीवनस्तरबाट आएर विभिन्न संस्थाहरुमा काम गर्ने अवसर आयो, ती अवसरहरुबाट अहिले खारिँदै, सुधारिदै यहाँसम्म आइपुगेको छु, अहिले गर्वको अनुभुति हुन्छ ।

अहँ ! यस्तो सोच कहिल्यै आएको थिएन । पहिले-पहिले सरकारी जागिर खान पाउनु नै ठूलो कुरा हुन्थ्यो । म जवान अवस्थामा नै सरकारी निकायमा प्रवेश गरेको हुँ । तर सिस्टम भित्र रहेर काम गर्दै गइयो । यो स्तरमा पुग्छु भन्नेचाहिँ सोचेको थिइनँ । अहिले पनि आफ्नै क्षेत्रमा काम गर्न पाएको छु । खुशी लागेको छ ।

अष्ट्रेलियाको लागि नेपालको महामहिम राजदूतको रुपमा सेवा गर्न थालेको भएको २१ महिना भयो । त्यो भन्दा अगाडि २०१५ देखि २०१९ सम्म म अमेरिकाको नेपाली राजदूतावासमा काउन्सेलरको रुपमा सेवारत थिएँ । त्यसभन्दा अघि करिब १० वर्ष नेपालको वैदेशिक सहायता, अन्तर्राष्ट्रिय समन्वय संस्थामा सेवारत थिएँ, जुन विदेशी दातृ निकायहरुबाट अनुदान, ऋण लिएर काम गर्ने संस्था हो । त्यसभन्दा पनि अघि २ वर्ष अमेरिकाको विश्व बैंकमा काम गरें । यसरी विदेशी निकायमा सेवा गर्नुअघि नेपालमै कामगरें । त्यसबाहेक मैले संयुक्त राष्ट्रसंघमा काम गरें । विदेशमा १० वर्ष जति र ३० वर्ष जति नेपालमा रहेर राष्ट्रसेवा गरें ।

अष्ट्रेलियाको सेन्ससअनुसार समग्रमा नेपालीहरु झण्डै एक लाख २२००० को हाराहारीमा छन् । तर सबै क्षेत्रमा एक लाख ५०,००० जति छन् भन्ने बुझिन्छ । त्यसमा अष्ट्रेलियाको विभिन्न राज्यमा छरिएर रहेको झण्डै आधाआधी विद्यार्थीहरु छन् । तीमध्ये ठूलो संख्या भने सिड्नीमा छ, त्यसपछि मेलबर्न, ब्रिसबेन, पर्थलगायत अन्य राज्यमा पनि छन् । समग्रमा उनीहरुको अवस्था राम्रो नै छ । मध्यम वर्गीय परिवारले चाहिँ अलि बढी संघर्ष, दु:ख गर्नु परेको, पढाइमा समय नदिएको, कोही–कोही डिप्रेसनमासमेत गएको देख्न सकिन्छ । कतिचाहिँ प्रतिष्ठित भएको पनि देखेको छु ।

दूतावासको नजरमा सबै नेपालीहरु बराबर हुन् । यहाँ अष्ट्रेलियाको नागरिकता, पीआर लिएको नेपाली नागरिक होस् वा विद्यार्थी वा अन्य भिसामा रहेका, जोसुकै भए पनि हामी समान व्यवहार गर्छौं।  तर नेपाली नै भए पनि अष्ट्रेलियाको पासपोर्ट लिएको हकमा भने फरक कानुन छ र सोहीअनुसारको व्यवहार हुन्छ । तर भावनात्मक रुपमा सम्पूर्ण नेपाली जो जसरी रहेका छन्, सबै नेपालीलाई दूतावासले अभिभावकको भूमिका निर्वाह गरेको छ । हामीले दिन पर्ने र दिनसक्ने सेवा सुविधाहरु उपलब्ध गराएका छौं । हाम्रो कार्यक्षेत्र र सीमाभित्र रहेकाहरुलाई हामी समेट्छौँ । त्यसबाहेक हाम्रो क्षेत्र र सीमा बाहिरकाहरुलाई पनि विभिन्न सघं-सस्थाहरुसँगको सहकार्यमा सहयोग उपलब्ध गराउँछौं ।

विशेष् गरी पासपोर्टको सिलसिलामा धेरै नेपालीहरु आउने गरेका छन् । त्यसबाहेक कागजात प्रमाणित गर्ने (नेपालमा आफू जान नसक्ने तर यहाँबाट कागज दिएर उता कागजी कामहरु गर्न सक्ने), मन्जूरी नामाकाका कामहरु बढी हुने गरेका छन् । दु:ख पाएका नेपालीहरु छन् भने सघंसस्थाहरुसँग सहकार्य गरी सहायता गर्छौँ । पढाइमा यहाँको कानुनअनुसार चल्दै गर्दा केही समस्या पर्यो भने हामीले जे गर्न सक्छौं त्यो गर्छौं । यस्ता कामहरुमा कुनै पनि नेपालीले दुःख नपाऊन् भनेर सक्दो सहयोग गर्छौं ।

हामीले दूतावासबाट दिने सेवामा पासपोर्टको चाप सबैभन्दा बढी छ । यो दूतावास २००७ सालमा स्थापना भएको हो तर त्यतिबेला जति स्रोतसाधन थिए, अहिले पनि त्यतिमै सीमित छ । तर नेपालीहरुको संख्या भने ३० गुणाले बढेको छ । तर पनि हामीले सक्दो किसिमले सहजीकरण गरिरहेका छौं । चाप बढी भएकोले अपोइन्टमेन्ट प्रणाली लागू गरी सेवा दिँदै आएकोमा बिना अपोन्टमेन्ट सेवा दिने अवस्था सिर्जना गर्न गृहकार्य गरिरहेका छौं । पहिले नगदमा सेवा उपलब्ध हुन्थ्यो भने अहिले मेसिनबाट कारोबारको व्यवस्था गरेका छौं । पहिले फोन नउठ्ने समस्या थियो अहिले यो समाधान भएको छ । हामीले साना-साना भए पनि महत्वपूर्ण सेवाहरु दिएका छौं । कतिपय विद्यार्थी आर्थिक समस्यामा पनि परेका छन् । त्यस्ताहरुलाई हामीले आर्थिक सहायता गर्न सक्ने नीति छैन र गर्न सकिने अवस्था पनि छैन तर पनि त्यस्तो समस्या हामीकहाँ आएको खण्डमा विभिन्न संघ-संस्थाहरुसँग सम्पर्क गरेर केही भए पनि सहयोग भइरहेको अवस्था छ । वर्तमान अवस्थामा नेपालीहरुको संख्यामा उल्लेख्य वृद्धि भएकोले नेपाल सरकारलाई नीतिमा केही परिवर्तन गर्न सुझाब दिने कुरा गर्दैछौं । श्रमको मामिलामा भने एउटा कोष पनि बनेको छ । विद्यार्थीहरुको हकमा भने त्यस्तो कोष बनेको छैन । तर विद्यार्थीहरुको संख्यामा वृद्धि भएकोले अब यस विषयमा सोच्नुपर्ने भएको छ ।

उच्च शिक्षाको लागि विद्यार्थीहरु विदेश जान चाहँदा परिवारले त्यसमा रोकतोक नगरी जान दिनुपर्छ । विदेशमा आएर पढेपछि कहाँ रहने, यहीँ बस्ने वा नेपाल जाने, जे भए पनि विभिन्न तरिकाबाट नेपालमा लगानी गरेर वा कुनै तरिकाले नेपालप्रति माया देखाएका छन् । त्यसमा अवसरको खोजी, व्यक्ति र परिवारले गर्छ त्यो स्वाभाविक हो । त्यसमा राज्यले चाहिँ आफ्नै देशमा अवसर बढाउने, नागरिकलाई नेपालमा नै राख्ने, गएकाहरुलाई फिर्ता आउने वातावरण बनाउने प्रयास जारी राख्नुपर्छ । दीर्घकालीन रुपमा हामी आफैले देश बनाउने हो । बाहिर बसेर मात्रै देश बन्दैन । यसलाई दुवै तर्फबाट मिलाएर व्यक्तिले आफ्नो अवसर खोज्दै जाने, ज्ञान, सीप, शिक्षा, धन आर्जन गर्दै जाने अनि राज्यले पनि त्यसमा अवसरहरु सिर्जना गरेर उपयोग गर्ने वातावरण बन्यो भने समग्रमा हामीले फाइदा पाउँछौँ ।

अनुभवले नै मानिस खारिंदै जाने हो । त्यो अनुभवलाई देशमा केही सुधार गर्नको लागि लाग्ने हो भने राम्रो हुन्छ । मैले त्यसमा ध्याद दिएँ र अनि सिकेका कुराहरुलाई देशको हितमा काम गर्ने प्रयास गरेँ ।

जीवन सकारात्मक प्रकारले सोच्दा रमाइलो छ र यो संघर्ष हो । सिक्ने कुरा हो अथाह छ । यसमा सानो अंश पनि हामीले सिकेका हुँदैनौं । अब दुःख, सुख सबै भोग्दा समाज र देशको लागि केही गर्न सकियो भने त्यसैमा आफूलाई जीवनमा उतार्न प्रयास गर्नुपर्छ ।

सबैको आ-आफ्नो विचार, अवस्था र बाध्यता हुन्छन् । इमानदारिता र सेवाको भावना नै सबै कुरा हो । मैले सेवाको भावना राखेर काम गरें । विशेष गरी विद्यार्थीहरु मेरो ग्राहक हुन्, उनीहरुप्रति सेवाको भावना राखेर काम गर्दा उनीहरुलाई कसरी सहायता गर्ने, समस्या नपरोस् भन्ने इच्छा राखेर काम गरिएको छ । सायद सफलताको कारण यही नै होला ।

सहकर्मीहरु एकमदै सहयोगी, कर्मठ, मिहेनती हुनुहुन्छ । उहाँहरुले आफ्नो परिवारलाई दिनुपर्ने समयसमेत सेवामा लगाउनुभएको छ । हाम्रो टीम सानो भए तापनि एकदम खटेर सेवा पुर्याएको छ । म उहाँहरुको मुक्तकण्ठले प्रशंसा गर्छु । म सन्तुष्ट छु ।

यहाँको कार्यकालपछि नेपाल फर्किएर उतै रमाउने विचार गरेको छु । नेपालको धेरै ठाउँ घुमी स्वदेशी माटोको रसोस्वादन गर्ने विचार छ । बाँकी समय समुदाय र परिवारमा रहेर बिताउने योजना छ । 

जीवन अमूल्य छ, राम्रोसँग भोगौं, सकारात्मक चिन्तन राखौँ, परिवारसँग सधैं सम्पर्कमा रहौँ, जीवनलाई दुःखको रुपमा लिनु हुँदैन । सकारात्मक रुपले सोचौँ । जीवनमा उतारचढाव आइनैरहन्छन् तर प्रयास जारी राखौँ ।

महामहिम राजदूत कैलाश राज पोखरेलको पूर्ण परिचय

महामहिम कैलाशराज पोखरेल अन्तर्राष्ट्रिय मामिला, आर्थिक कूटनीति, वैदेशिक सहायता, व्यापार, लगानी, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग तथा वाणिज्य मन्त्रालयजस्ता विभिन्न निकायमा काम गरी वृहत्त बटुल्नु भएका व्यक्ति हुनुहुन्छ। उहाँले नेपालकासाथै वासिङ्टन डिसीमा रहेको विश्व बैंक, पूर्वी टिमोरमा संयुक्त राष्ट्र संघ र टोकियोमा रहेको युनिडोजस्ता अन्तर्राष्ट्रिय प्रख्यात संस्थाहरूमा कार्य गरिसक्नु भएको छ। 

उहाँको ४० वर्ष लामो करियर सन् १९८७ मा नेपाल सरकारमा उद्योग मन्त्रालयमा अधिकृतको रूपमा सुरु भएको थियो जहाँ उहाँ औद्योगिक र लगानी प्रवर्द्धन गतिविधिमा संलग्न हुनुहुन्थ्यो। करिब २५ वर्ष उहाँले नेपालको अर्थ मन्त्रालयमा बजेट, राजस्व र वैदेशिक सहायता क्षेत्रमा विभिन्न पदमा रही काम गर्नुभयो।

उहाँले सरकारको बजेट प्रणालीमा सुधार, पहिलो पटक सरकारी प्रणालीमा मानक सञ्चालन प्रक्रिया (एसओपी) लागू गर्न र विशेष गरी पूर्वाधार र शिक्षा क्षेत्रमा राष्ट्रिय बजेट तर्जुमा गर्न योगदान दिनुभयो। झण्डै एक दशकसम्म उहाँले अर्थ मन्त्रालयमा उपसचिवको रूपमा काम गर्दै विभिन्न अन्तर्राष्ट्रिय दाताहरूसँग प्रमुख सहायता संयोजक र वार्ताकारको रूपमा काम गर्नुभयो । उहाँले, विदेशी सहायता प्राप्त परियोजनाहरूको लागि एक शीर्ष अनुगमन र सुधार मञ्च राष्ट्रिय संयोजकको रूपमा नेपाल कार्य सम्पादन पोर्टफोलियो समीक्षा (NPPR) को नेतृत्व गर्नुभयो ।

सन् १९९२ मा जापानको टोकियोमा संयुक्त राष्ट्र उद्योग विकास संगठन (UNIDO) मा लगानी प्रवर्द्धन अधिकारीको रूपमा उहाँको अन्तर्राष्ट्रिय एक्सपोजर सुरु भयो। सन् २००० मा, उहाँले संयुक्त राष्ट्र सङ्क्रमणकालीन प्रशासन इन पूर्वी टिमोर (UNTAET) मा नागरिक प्रशासन निर्माणमा काम गर्दै २ वर्षभन्दा बढी सेवा गर्नुभयो ।

त्यसपछि उहाँले २००४ देखि २००६ को अवधिमा वाशिंगटन, डीसी, संयुक्त राज्य अमेरिकामा विश्व बैंक बोर्ड अफ डाइरेक्टरमा कार्यकारी निर्देशकको सल्लाहकारको रूपमा काम गर्नुभयो । २०१५ देखि २०१९ सम्म, उहाँले नेपाली राजदूतावास, वाशिंगटन डीसी, संयुक्त राज्य अमेरिकामा आर्थिक सल्लाहकारको रूपमा काम गर्नुभयो जहाँ उहाँले संयुक्त राज्य अमेरिकासंग द्विपक्षीय आर्थिक सहयोगको प्रवर्द्धन र सहायता, व्यापार, र पर्यटनसंग सम्बन्धित विभिन्न कार्यक्रमहरुमा संलग्न रही काम गर्नुभयो।

उहाँ सेप्टेम्बर २०२० मा नेपालको निजामती सेवाबाट वरिष्ठ अधिकारीको रूपमा अवकाश प्राप्त गरी जुन २०२२ मा राजदूतको रूपमा नियुक्त हुनुभयो ।

आफ्नो लामो करियरमा, उहाँले सबै महाद्वीपहरूको ४६ भन्दा बढी देशहरूको भ्रमण गर्नुभएको छ। उहाँले नेपालका प्रमुख छापा तथा अनलाइन पत्रपत्रिकामा पनि धेरै लेख प्रकाशित गर्नुभएको छ।

पोखरेलले अर्थशास्त्रमा स्वर्ण पदक जित्नुभएको छ भने त्रिभुवन विश्वविद्यालय, काठमाडौंबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर गर्नु भएको छ साथै उहाँ कानूनको स्नातक पनि हुनुहुन्छ  ।

उहाँले बैंकर बसुधा नेपालसँग विवाह गर्नुभएको र हाल उहाँको एक छोरा अंकित पोखरेल र बुहारी मेरिना रेग्मी, जो मेडिकल डाक्टरको रूपमा भारतमा सेवारत हुनहुन्छ ।

वचनन्यूजका प्रकाशक तथा सम्पादक केदारकुमार रायमाझी, महामहिम कैलाशराज पोखरेलको साथमा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery Lumbini Kohinoor polyclinic