Wednesday, February 11, 2026
Zenith Migration Education
Wednesday, February 11, 2026

विकास सहायता वृद्धिको प्रयास गर्ने बेलायती सांसद्को प्रतिबद्धता

Zenith Migration Education

काठमाडौँ: संयुक्त अधिराज्यको माथिल्लो सदन ‘हाउस अफ लर्डस्’ का सदस्य स्टीवार्ट उडले नेपालको सामाजिक रूपान्तरणका लागि बेलायती विकास सहयोग बढाउन प्रयास गर्ने बताउनुभएको छ ।

‘भिएसओ’ नेपालको निमन्त्रणामा विशिष्ट स्वयंसेवकका रुपमा आठ दिनका लागि नेपाल आउनुभएका उडले महिला शिक्षा तथा लिङ्गका आधारमा गरिने विभेदको अन्त्यका निम्ति सञ्चालित परियोजनाका गतिविधिबारे जानकारी लिनुभएको छ । विराटनगर र बाराका स्थानीयलाई भेटेर काठमाडौँ फर्कनुभएका लेबर पार्टीका नेता उहाँले त्यहाँ भइरहेको सामाजिक रुपान्तरणको प्रशंसा गर्नुभयो ।

रासससँग कुरा गर्दै उहाँले बाराका दलित समुदायमा शिक्षा र परिवर्तनप्रतिको चाहनाबाट आफू प्रभावित भएको जनाउँदै एफसिडिओको सहयोगमा भिएसओ नेपालले सीमान्तकृत समुदायका बालिका शिक्षा तथा जीवनयापनका लागि सञ्चालन गरेका कार्यक्रम अनुकरणीय पाएको बताउनुभयो ।

बेलायतका तत्कालीन प्रधानमन्त्री गोर्डेन ब्राउनका विशेष सल्लाहकार उडले नेपालमा भएका सकारात्मक परिवर्तनबारे आफ्नो मुलुकमा उल्लेख गर्ने बताउँदै विविध संस्कृतियुक्त नेपालको सामाजिक–आर्थिक विकासका लागि बेलायत सरकारको सहयोग बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अक्सोफोर्ड विश्वविदालयमा राजनीति शास्त्र अध्यापन गर्नुभएका उहाँले नेपालको शैक्षिक उन्नयनका खतिर साझेदार बढाउन र बेलायती पर्यटकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने बताउनुभयो ।

‘भिएसओ’ नेपालका देशीय प्रतिनिधि जयशङ्कर लालले उडजस्ता स्वयंसेवकले नेपालमा गरेको सेवाले आफूहरुलाई सामाजिक क्षेत्रमा गर्दै आएका काममा ऊर्जा थपिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु