आजभन्दा सात दशकअघि नेपाली जनता स्वास्थ्य उपचार, आधारभूत शिक्षा, स्वच्छ खानेपानीबाट वन्चित भएको र सरकार पनि ती अभाव पूर्ति गर्न सक्षम नभएको अवस्थामा केही बाह्य कृपालु व्यक्तिहरूको प्रार्थाना र शसक्त पहल कदमीका कारण विश्वभरिका इसाईहरुको सहकार्यको माध्यम बनेर United mission to Nepal (UMN) स्थापना भयो। जसको माध्यमबाट दुखी, अभावमा परेका मानिसहरूको बीचमा परमेश्वरको प्रेम बाँड्न नेपालको तानसेन, गोरखाको आँपपिपल, ओखल्ढुङ्गा, खोटाङ, पाटन, लमजुङ्ग आनन्दवन अस्पतालहरू बने भने कयौं विद्यालयहरू खुल्नुका साथै खानेपानी आयोजनाहरु समेत बने । हज्जारौंले रोजगार पाए, पाइरहेका छन् ।लाखौँ दीन दु:खी लाभान्वित भए, भइ रहेका छन् ।
यसरी सामाजिक कार्यमार्फत मुलुकलाई यति ठूलो योगदान पुर्याउने संस्थालाई राज्यले उचित सम्मान गरी यस्ता कार्यलाई अझै व्यापक बनाउन प्रोत्साहन दिनुपर्नेमा विभिन्न लान्छना लगाउने काम भएको देख्दा नरमाइलो लाग्छ।
त्यही संस्थामा रोजगारी गरी आफ्नो जीविकोपार्जन गरिरहेकाहरूले समेत संस्थाउपर विष वमन गर्ने गरेको पाइन्छ। राज्यले सिटामोलसमेत उपलब्ध गराउन नसकेको दूरदराजका जनताले यस संस्थामार्फत वरिष्ठ चिकित्सकहरू द्वारा अत्याधुनिक सेवा प्राप्त गरेका छन्। तर पनि लाभान्वितहरूबाट कृतज्ञताका दुई शब्द फुट्न गाह्रै पर्ने गरेको छ।
एउटा भोजमा एक दृष्टिविहीन व्यक्तिलाई केही कृपालु व्यक्तिले राम्रो खानाको मेजमानी गरेछन्। अघाउन्जेल खाना खाइसकेपछि ती दृष्टिविहीन व्यक्तिले खानाको निम्ति धन्यवाद दिनुको साटो “मजस्तो आँखा नदेख्नेलाई यति मीठो खुवाए, झन् यिनीहरूले कति मीठो खाए होलान् !” भनेछ। नेपाली समुदायलाई UMN ले सक्दो गुण लगाएको छ। धन्यवाद भन्न नसके पनि कमसेकम गलत अफवाहचाहिँ फैलाउन नहुने हो।
विशाल सुब्बा



