Wednesday, February 11, 2026
Zenith Migration Education
Wednesday, February 11, 2026

नेत्रज्योति सङ्घले गर्यो एक वर्षमा ३३ लाखभन्दा बढीको आँखाको उपचार

Zenith Migration Education

काठमाडौँ: नेपाल नेत्रज्योति सङ्घले एक वर्षमा आफ्नो मातहतका अस्पताल, उपचार केन्द्र र जिल्ला शाखामार्फत् ३३ लाखभन्दा बढीको आँखा जाँच तथा उपचार गरेको जनाएको छ । सङ्घले ४६औँ नेत्रज्योति दिवसका अवसरमा आज यहाँ पत्रकार सम्मेलन गरी सन् २०२३ मा आफ्नो मातहतका २८ अस्पताल, १५६ आँखा उपचार केन्द्र र ४३ जिल्ला शाखामार्फत् आठ लाख पाँच हजार विदेशीसहित ३३ लाख छ हजार २६ जनाको स्वास्थ्योपचार गरेको स्पष्ट गरेको छ । सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले सङ्घीय र प्रदेश सरकार, स्थानीय तह, स्वदेशी तथा विदेशी दातृ निकाय एवं समाजसेवीसमेतको सहयोगमा गरिब तथा असहायलाई प्राथमिकता दिँदै दुई लाख ६५ हजार ८८५ जनाको शल्यक्रिया गरेको जानकारी दिनुभयो । पहँुच र पैसाको अभावमा कुनै पनि नेपाली आँखा रोगको उपचार गर्नबाट वञ्चित हुनु नपर्ने उल्लेख गर्दै अध्यक्ष पन्तले भन्नुभयो, “सहयोग र सहकार्यको अवधारणाबमोजिम हाम्रो संयन्त्र देशभर क्रियाशील छ, चेतनाको कमीले अझै पनि केही मानिस अस्पताल आउन डराइरहेका छन्, तिनलाई अस्पतालसम्म ल्याउने वातावरण निर्माण गर्न सञ्चारकर्मी मित्रहरूसँग अनुरोध गर्दछु ।” महासचिव भरतबहादुर चन्दले स्थापनाकालदेखि हालसम्म ५१ लाख ३३ हजार ६५९ जनाको शल्यक्रिया उपचारसहित चार करोड ३६ लाख जना आँखाका बिरामीलाई स्वास्थ्य सेवा दिन सफल अन्धोपनमुक्त नेपालका पक्षमा क्रियाशील सङ्घलाई समाजका सबै क्षेत्रबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । नेपालमा ४५ वर्षअघि पाँच जनामात्र आँखारोगसम्बन्धी विशेषज्ञ चिकित्सक रहेकोमा अहिले ८०० भन्दा बढीले सेवा प्रदान गरिरहेका छन् । अहिले मित्रराष्ट्र भारत, बङ्गलादेश र भुटानका बिरामीसमेत आँखा उपचारका लागि नेपाल आउने गरेको सङ्घले जनाएको छ । प्रविधिको विकाससँगै करिब दुई दशकभन्दा अघि सात दिन लाग्ने आँखाको शल्यक्रिया अहिले जम्मा दुई दिनमा सम्भव हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु