Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

प्रधानमन्त्री ओलीद्वारा एनआरएनए ग्लोबल कन्क्लेवको उद्घाटन: गैरआवासीय संघमा सरकारी हस्तक्षेप नहुने आश्वासन

Zenith Migration Education

काठमाडौं – सोमवार गैरआवासीय नेपाली संघ (एनआरएनए) को ग्लोबल कन्क्लेव तथा वार्षिक साधारणसभा काठमाडौंको सोल्टी होटलमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्दै गैरआवासीय नेपालीहरूलाई नेपालको समृद्धिमा साझेदारका रूपमा स्वागत गर्दै सफलताको शुभकामना व्यक्त गरे। दुई दिने कार्यक्रमको मुख्य विषयवस्तु “परिवर्तन र एकता: श्रम, लगानी र नागरिकताको निरन्तरता” राखिएको छ।

समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा पूर्वाधार निर्माण पूरा भएकाले अब सहकार्यका लागि सबै तयार रहनुपर्ने बताए। “अब नेपालमा दुर्गम भन्ने ठाउँ छैन,” उनले भने, “सबै मिलेर अघि बढेमा देशको समृद्धि अवश्य सम्भव छ।” उनले गैरआवासीय नेपाली संघलाई ‘राजनीतिक तानातान’ बाट टाढा रहन आग्रह गर्दै संघमा सरकारको कुनै हस्तक्षेप नहुने प्रतिबद्धता जनाए।

प्रधानमन्त्रीले भने, “म देशको प्रधानमन्त्री हुँ, कुनै एक पार्टीको मात्र होइन। हरेक उच्च पदको हैसियतले राष्ट्रिय हितमा काम गर्नेछौं।” यस अवसरमा उनले गैरआवासीय नेपालीहरूले राष्ट्रिय एकता र आर्थिक विकासमा पुर्याएको योगदानको प्रशंसा गरे।

गृह र परराष्ट्र मन्त्रालयको उपस्थिति

गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपालीहरूले देशप्रतिको प्रेम र योगदानमार्फत विश्वमाझ नेपालको पहिचान बनाएको बताए। उनले भने, “तपाईंहरूले नेपाललाई जसरी देखाउनुहुन्छ, त्यहीँ आधारमा नेपालको छवि निर्माण हुन्छ।” गृहमन्त्रीले गैरआवासीय नेपाली नागरिकता व्यवस्थाबारे संसद्मा छलफल गरी आवश्यक संशोधन प्रस्ताव ल्याउने तयारी रहेको संकेत पनि दिए।

संस्थापक उपेन्द्र महतोको आह्वान

एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले संस्थाको अभियानले नेपाललाई विकास र समृद्धितर्फ अघि बढाउने विश्वास व्यक्त गर्दै एकतामा जोड दिए। “देशको समृद्धिबिना कुनै उपलब्धि हासिल हुँदैन,” महतोले भने।

दोस्रो दिनका मुख्य विषय

आज दोस्रो दिन अर्थात् २८ अक्टोबर २०२४ मा नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार विकास, गैरआवासीय नेपाली नागरिकता, मतदान अधिकार, जलवायु परिवर्तनको प्रभाव र विज्ञान–प्रविधिको हस्तान्तरण जस्ता विषयमा गहन छलफल हुने छ। यस अवसरमा एनआरएनएका वित्तीय र वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ र विधिसम्मत पारित गरिनेछ।

६० भन्दा बढी देशका प्रतिनिधिहरूको भौतिक तथा भर्चुअल सहभागिताले एनआरएनएको आगामी योजनामा अन्तर्राष्ट्रिय सहकार्यको मार्गचित्र तय गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु