काठमाडौं, असोज — अष्ट्रेलियाको काठमाडौँस्थित राजदूतावासमा (एनआरएनए) संघका अध्यक्ष डा. बद्री केसी र अष्ट्रेलियन राजदूत लियान जोनस्टन तथा मिसन प्रमुख ग्रेग क्लेमबीच मङ्गलबार एक विशेष बैठक सम्पन्न भएको छ। बैठकमा नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउन विभिन्न महत्त्वपूर्ण विषयमा छलफल भएको हो।
बैठकको प्रमुख एजेन्डामा अष्ट्रेलियामा भिसा कार्यालय स्थापनाको पहल, आप्रवासी नेपालीहरूको अष्ट्रेलियन अर्थतन्त्रमा योगदानको पहिचान, छात्रवृत्ति अवसरहरूको वृद्धि तथा सांस्कृतिक आदान–प्रदानलाई प्रोत्साहन गर्ने विषयहरू समेटिएका थिए। यस्तै, दुवै देशबीचको व्यापार तथा द्विपक्षीय सम्बन्धलाई बलियो बनाउन थप कदम चाल्ने कुरामा पनि सहमति भएको छ।
बैठकमा अष्ट्रेलिया जाने नेपाली विद्यार्थीहरूको लागि पूर्व–बिदाइ अभिमुखीकरण कार्यक्रमको आवश्यकता र आउँदै गरेको अन्तर्राष्ट्रिय महिला सम्मेलनको तयारीबारे पनि विस्तृत छलफल भयो। यी छलफलहरूले दुई देशबीचको शिक्षामा आदान–प्रदान र लैङ्गिक समानताको प्रवर्धन गर्ने उद्देश्यलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
(एनआरएनए) संघका अध्यक्ष डा. केसीको साथमा संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत पनि बैठकमा उपस्थित थिए। यस बैठकले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई अझ मजबुत बनाउने दिशामा ठोस कदमहरू अगाडि बढाउने विश्वास व्यक्त गरिएको छ।



