सिड्नी, अस्ट्रेलिया–नेपालका चर्चित गायक रामकृष्ण ढकालले शनिबार सिड्नीको रक्डेलमा आयोजित ‘रामकृष्ण ढकाल अस्ट्रेलिया टुर’ कार्यक्रममा आफ्ना लोकप्रिय गीतहरूमार्फत सिड्नीको नेपाली समुदायलाई फेरि एक पटक मन्त्रमुग्ध पारेका छन्।सांगीतिक कार्यक्रममा गायक ढकालले राष्ट्रिय भावनासँग जोडिएको आफ्नो चर्चित गीत ‘बिहान उठ्ने बित्तिकै’ गाउँदै स्टेजमा उत्रिँदा दर्शकदीर्घामा उत्साहको लहर छाएको थियो। त्यसपछि उनले ‘ओराली लागेको’, ‘नजिक आउनुमा’, ‘चरीले छाडेर’, ‘बाँचुञ्जेली’ लगायतका गीत प्रस्तुत गरी माहोललाई झन् रोमाञ्चक बनाए।ढकालले सिड्नीको स्थानीय लाइभ ब्यान्डको साथमा प्रस्तुत गरेका गीतहरूमध्ये स्वरसम्राट नारायणगोपालका केही अमर गीत पनि समावेश थिए। उनले १२ वर्षको उमेरमै नारायणगोपाल बन्ने सपना देखेर उनको गीत गाएको अनुभव सुनाउँदै नारायणगोपालप्रतिको आफ्नो सम्मान व्यक्त गरे।फिल्म ‘हिजोआजका कुरा’मा समावेश ‘संगै माया जदौ’ गीत गाएर ढकालले कार्यक्रमको समापन गरे। कार्यक्रमको मध्य भागमा एनआरएनए अष्ट्रेलियाका सिड्नी संयोजक विनोद कुँवर, क्षेत्रीय संयोजक दिनेश पोखरेल, वरिष्ठ पत्रकार हेमन्त काफ्ले लगायत आयोजक टोलीले गायक रामकृष्ण ढकाललाई स्वागत र सम्मान प्रदान गरे।यसअघि पनि ढकाल अष्ट्रेलियामा सांगीतिक कार्यक्रमका लागि आएका थिए। सिड्नीको सफल प्रस्तुतीपछि उनले विभिन्न अस्ट्रेलियाली शहरहरूमा पनि आफ्नो सांगीतिक यात्रा गर्ने बताउँदै, त्यसपछि अमेरिकामा प्रस्थान गर्ने योजना रहेको खुलासा गरे। अस्ट्रेलियाका नेपाली समुदायबाट पाएको माया र समर्थनले आफूलाई अत्यन्तै खुशी र गर्व लागेको उनले दर्शकहरूलाई बताए।















