राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त उपप्रधानमन्त्री प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
नवनियुक्त उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सिंह र उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले आज बिहान शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलको उपस्थितिमा शपथ ग्रहण गरेका हुन्।
यस समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, विभिन्न राजनीतिक दलका नेताहरू, सांसदहरू, नेपाल सरकारका विशिष्ट अधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुखहरू र सामाजिक जीवनका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो।
समारोहमा राष्ट्रपति पौडेलले सिंह र पौडेललाई सफल कार्यकालको शुभकामना दिएका थिए।



